गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २ गते । गायक तथा सङ्गीतकार विपिन घिमिरेको ‘जिउँछु मर्छु...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्द रहेको सो गीतमा घिमिरेले सङ्गीत भर्नुभएको छ । गीतमा घिमिरे र रोशनी थापाको स्वर सुन्न सकिन्छ ।
रोशनी थापाले निर्माण गर्नुभएको गीतले प्रेमिल भावलाई दर्शाउँछ। गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन, कुमार केसीको ध्वनि सम्पादन तथा रामकुमार केसीको छायाङ्कन रहेकोे छ । गायक घिमिरेले आगामी सिर्जनामा केही पृथक् शैली अपनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ,
“परिस्थिति वा समग्र परिवेशले सबैलाई उस्तै प्रभाव पार्ने हुँदा कलाकारलाई बेग्लै भएर सिर्जना गर्न चुनौतीपूर्ण छ । यसर्थ ज्ञानको दायरा फराकिलो पार्दै परम्परागत शैलीको झल्को दिँदै प्राविधिक रूपले फरक स्वाद पस्कनु पर्छ ।”
नेपालको सामाजिक, ऐतिहासिक र गर्विला विषयवस्तुमा अझै सङ्गीतिक कार्य हुन नसकेको बताउँदै उहाँले राष्ट्रिय गीतबाट मात्र त्यसको भाव पूरा नभएको र यसलाई पृथक् अवधारणा तयार गरिरहेको पनि जानकारी दिनुभयो ।