• १३ असोज २०८१, आइतबार

नगर प्रमुखविरुद्ध पत्रकारको मौन जुलुस

blog

धरान समाचारदाता 

धरान, जेठ २ गते । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईविरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमबार मौन जुलुस प्रदर्शन गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको भन्दै पत्रकार महासङ्घ सुनसरीले विरोध स्वरूप मौन जुलुस प्रदर्शन गरेको अध्यक्ष जनकऋषि राईले बताउनुभयो । प्रमुख राई नसच्चिएसम्म र धरान उपमहानगरपालिकाबाट प्रेस स्वतन्त्रताप्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन नरोकिने जानकारी उहाँले दिनुभयो ।   

पत्रकार तथा सञ्चार संस्थाप्रति धरानका नगर प्रमुख राईले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति पत्रकारहरू असुरक्षित भएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए ।

मौन जुलुसमा सहभागीले प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ? स्वतन्त्रतापूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताको रक्षा गर लेखिएको प्ले कार्ड छातिमा भिरेर भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । 

वरिष्ट पत्रकार हर्ष सुब्बाले स्थानीय सरकार प्रमुख र तिनका समर्थकहरूले प्रेस स्वतन्त्रतामाथि धावा बोलेको भन्दै नागरिकको आवाजलाई नै दमन गरेका कारण पत्रकारिताको रक्षाका लागि धरानमा पनि मौन जुलुस निकालिएको बताउनुभयो ।

विरोध प्रदर्शनमा पत्रकारहरू, धरानका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । यसअघि महासङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएको थियो ।