• १३ असोज २०८१, आइतबार

‘गोरखापत्र जनताको अखबार’

blog

कोशी प्रदेश ब्युरो

विराटनगर, वैशाख ३० गते । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा संस्थानको विराटनगरस्थित पूर्व क्षेत्र प्रकाशन कार्यालयमा शुक्रबार  एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रम का सहभागी वक्ताहरूले गोरखापत्र दैनिकले पछिल्लो समयमा नागरिकको पत्रिकाको भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै जनताको प्रतिनिधित्व गर्दै जनभावना बोल्ने अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। 

कार्यक्रममा संस्थानका सञ्चालक समिति सदस्य तथा कोशी प्रदेश संयोजक सचिन पोख्रेलले गोरखापत्र सरकारको पूर्ण स्वामित्वमा रहेको जनताको अखबार बनेको बताउनुभयो। उहाँले पछिल्लो समयमा गोरखापत्रले पूर्वाधार विकास र पाठकसम्मको पहुँच विस्तारमा फड्को मारेको बताउनुभयो। 

संस्थानका सञ्चालक समितिका अर्का सदस्य चेतन धमलाले सर्वसाधारणको प्रत्यक्ष संलग्नतामा प्रकाशनको स्तर उठाएर समयानुकूल लोकप्रिय र प्रभावकारी बनाउन संस्थान लागि परेको बताउनुभयो।

विराटनगर महानगरपालिका वडा नं.–१९ का वडाध्यक्ष श्याम घिमिरेले मुलुकको जेठो अखबारका रूपमा रहेको राष्ट्रिय पत्रिका गोरखापत्रले स्थानीय तहको समाचारलाईसमेत उच्च प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यव्रmममा कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यद्वय अमर खड्का र इकवाल अहमद, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, संस्थानका कर्मचारी कृष्ण लुइटेललगायतले राज्य र जनताप्रतिको जिम्मेवार अखबार बनिरहेको गोरखापत्रले सधैँ राज्य र जनताको हितका सामग्री प्रकाशनलाई प्राथकिमता दिँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम  संस्थानका पूर्व क्षेत्र प्रकाशन कार्यालयका कार्यालय प्रमुख राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।