• २४ जेठ २०८२, शनिबार

पत्रकार हुँ भन्दै धम्क्याउने भट्टविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, जेठ २३ गते । रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टविरुद्ध एक करोड १५ लाख चार हजार १११ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार भट्टले आफू पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गर्ने गरेका थिए । 

उनले २०४९ साउन १ गते अस्थायी खरिदार पदमा ६ महिनाको लागि नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारीले अनिश्चितकालीन म्याद थप गरेका थिए । २०७० माघ १ गते नायब सुब्बा पदमा बढुवा लिएर अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानुनी तवरबाट ग्रेड सुविधा लिएको र अनिश्चितकालीन म्याद थप भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भट्ट २०५३ सालदेखि कान्तिपुर पब्लिकेसन लिमिटेडको विभिन्न पदमा कार्यरत रही काम गर्दै आएकोमा २०६७ पुस १ गते कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिइ नियमित पारिश्रमिक लिएको देखिएको छ ।

उनले मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको साइट मेनेजर÷स्थानीय प्रतिनिधिको रूपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैँले कमिसन बापतको रकम लिएका थिए । 

यसै गरी सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन प्रमुखहरू अमर थापा, नारायणप्रसाद भण्डारी, तत्कालीन लेखा प्रमुखद्वय यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरुद्ध बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।