• २२ असार २०८२, आइतबार

मधेश प्रदेश सभाको बैठक आज बस्दै

blog

मधेश प्रदेशसभा भवन । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, असार २२ गते  ।
अनिश्चितकालका लागि स्थगित मधेश प्रदेशसभा बैठक  आइतबार बस्दै छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत १२ गते सभाको पाँचौँ अधिवेशनको १३ औं बैठक बोलाइएको थियो । बैठक सुरु हुनु अगावै एक सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । सो बैठकमा ‘‘आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बजेट बैठकको दैनिक कार्यसूचीमा रहेको थियो ।’’

आइतबार बस्ने बैठकमा पनि मधेश प्रदेश सरकारको आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ ।

सभाको चालु अधिवेशनको असार १ गते ११ औं बैठकमा अर्थमन्त्री यादवले आ.व. २०८२/०८३ को राजश्व र व्यय (बजेट वक्तव्य) प्रस्तुत गर्नु भएको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको थिएन । त्यसपछि असार ११ गते प्रदेशसभाको १२ औँ बैठकमा प्रदेश सांसदहरुलाई रेडबुक (रातो) किताब वितरण गरिएको थियो । सो बैठकमा दुई जना साँसदलाई मात्र राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागि गराइएको थियो ।

रेडबुकमा गहिरो अध्ययन नपुगेको भन्दै सभामुख रामचन्द्र मण्डलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने जानकारी दिँदै अर्को बैठक २०८२ असार १२ बिहीबार १ बजे बस्ने गरी स्थगित गर्नु भएको थियो । तर १२ गते बैठक नबसी अनिश्चतकालका लागि स्थगित गरिएको थियो ।

मधेश प्रदेश सरकारले सार्वजनिक गरेको रेडबुकमा सत्ता नेतृत्व जनमत पार्टीभित्रै व्यापक असन्तुष्टिहरु व्यक्त गरिएपछि अनिश्चतकालका लागि स्थगित भएको बैठक बस्न लागेको छ ।