जयकृष्ण यादव
इनरुवा, जेठ २४ गते । सुनसरीका इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले बकर इद शनिबार हर्षाेल्लासका साथ मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि अनुसार इदगाहा तथा मस्जिदमा जम्मा भई विशेष नमाज पढेर हर्सोल्लासका साथ मनाएका हुन् ।
बकर इदमा बिहानैदेखि जिल्ला सदरमुकाम इनरुवा, बबियासहित जिल्लाभरका इदगाहा तथा मस्जिदमा भीड लागेको थियो । मुस्लिम समूदायले तीन दिनसम्म मनाउने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
हिजरी संवत् पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम अगुवा तालिर अलीले जानकारी दिनुभयो ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवम् दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान रहेको अर्का मुस्लिम समुदयका पत्रकार लुकमान अन्सारीको कथन छ ।