अमरराज नहर्की
तनहुँ, जेठ २३ गते । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुर्याउने उद्देश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
बाख्राबाट छाटो समयमा नै आम्दानी लिन सकिने र यहाँको हावापानी र चरन राम्रो भएकोले सहयोग गरिएको म्याग्दे गाउँपालिकाको महिला, बालबालिकाका तथा सामाजिकीकरण उपशाखाको प्रमुख सुकमाया राना मगरले जानकारी दिनुभयो ।
एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले तीन लाख बजेट विनियोजन गरी वडाको सिफारिसको आधारमा एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन बाख्रा वितरण गरिएको रानाले बताउनुभयो । एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकोमा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिनुभयो ।
सात वटा वडाका चार, चार एकल महिला छनोट गरी प्रत्येकलाई एक, एक वटाका दरले ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
बाख्राको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सयुक्त रूपमा शुक्रबार प्रदान गर्नु भएको थियो । बाख्रा खरिदका लागि प्रति महिला १२ हजार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
बाख्रा हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले एकल महिलाको जीविको पार्जन गर्न सहजहोस् भनेर बाख्रा सहयोग गरिएको बताउनुभयो ।
एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।”