खेमराज सापकोटा
रानी, जेठ २४ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार विराटनगरमा हुलाक सेवा विभागले हुलाक सेवाको पुन: संरचना विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले हुलाक सेवा विभागलाई रूपान्तरण गरेर अरबौँ रुपिँया आम्दानी समेत गर्न सकिने बताउनुभएको हो ।
हुलाक सेवा मागी खाने सेवा नभएर आम्दानी समेत बढाउने संस्था बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘इकमर्सको माध्यमबाट हामीले काम गर्न सक्छौँ । यसले सेवाका साथ आम्दानी समेत गर्दै भन्ने कुरा प्रमाणित गर्नुपर्ने छ । त्यसका लागि सरकारले ऐन कानुनका साथै निर्णयहरूमा समेत रिफम गरेर प्रभावकारी बनाउन सक्छौँ, उहाँले भन्नुभयो ।
हुलाकमा जनशक्तिको अपडेट गर्नुपर्नेमा जोड दिँदै प्रगतिमैत्री संस्था हुनुपर्ने आवश्यक्ता औँल्याउनुभएको छ । ‘यसका लागि प्रविधिमैत्री जनशक्ति बनाउन लाग्नुपर्दछ, कार्यालयको व्यवस्थापनमा कर्मचारी साथी लाग्नुहोस्,’ उहाँले भन्नुभयो
इजरायले कृषिको क्षेत्रमा आफूलाई परिमार्जन गरेको उदाहरण दिँदै उहाँले अहिलेको अवस्थामा नेपालमा विकास चाहिँ भएको उल्लेख गर्नुभयो । ‘विकासमा समेत हाम्रोमा व्यवस्थापन हुन सकिरहेको छैन । त्यस कारण सबै क्षेत्रको व्यवस्थापन आवश्यक रहेको छ ।’
जनतालाई कुनै सुन्दर नारा आवश्यक नभएको बताउनुहुँदै जनतालाई काम चाहेको बताउनुभयो । देशभरमा रहेका ६ सय बढी हुलाक सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा कोशी प्रदेशमा रहेको हुलाकका प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्याका बारेमा प्रस्तुत गरेका छन् । कार्यक्रममा सञ्चार मन्त्रालय अन्तर्गत रहेका कर्मचारीका साथै सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।