सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, जेठ २४ गते । सिन्धुली जिल्लामा गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सामुदायिक विद्यालय धमाधम पुनर्निर्माण भइरहेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त गोलन्जोर गाउँपालिका–३ स्थित कुशेश्वरी प्राविको चार कोठाको नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ भने सुनकोशी गाउँपालिकामा दुई वटा विद्यालयका भवन धमाधम पुनर्निर्माण भइरहेका छन् ।
सुनकोशी नदीमा आएको बाढीले कुशेश्वरी प्राविको भवन क्षतिग्रस्त भएपछि शिलान्यास भएको छ महिनामै नयाँ दुई तले पक्की भवन निर्माण गरिएको हो । गत कात्तिक २८ गते उक्त विद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । विद्यालयमा अहिले खानेपानी, शौचालय, फर्निचरसहितको सुविधा रहेको गोलन्जोर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार ‘ब्याक टु लाइफ इभी जर्मनी’ को आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको प्राविधिक सहयोगमा भ्याटसहित एक करोड १३ लाख छ हजार ५८४ रुपियाँको लागतमा विद्यालयको पक्की भवन निर्माण गरिएको हो । मासिक चार हजार रुपियाँमा व्यक्तिको घर भाडामा लिएर पठनपाठन गरिँदै आइएको थियो । पुनर्निर्माणका लागि वडा नं. २ मा रहेको बाल प्रगतिशील प्रावि प्रव्रिmयामा रहेको र अन्य ११ वटा विद्यालय बागमती प्रदेश सरकारसमक्ष बजेटका लागि सिफारिस गरेको गाउँपालिका अध्यक्ष शङ्कर बरालले बताउनुभयो । त्यस्तै गत वर्षकै बाढीपहिरोबाट क्षतिग्रस्त सुनकोशी गाउँपालिका–१ मा नेपालथोक प्रावि र वडा नं. ५ मा गणेश मावि थापाथुम्काको पुनर्निर्माण धमाधम भइरहेको छ । सिड्स नेपाल सिन्धुलीको समन्वयमा ‘प्लान इन्टरनेसनल नेपाल’ को आर्थिक सहयोगमा ती विद्यालयको पुनर्निर्माण थालिएको हो । सिड्स नेपालका अध्यक्ष दीपक घिमिरेका अनुसार गाउँपालिका र वडाले जग्गा व्यवस्थापन गरेकाले करिब एक करोड २२ लाख रुपियाँमा टेन्डर आह्वान गरिएको छ ।
पहिरोको जोखिममा परेको वडा नं. ५ स्थित थापाथुम्का माविको पहिरो व्यवस्थापन गरी पुनर्निर्माण कार्य भइरहेको छ । करिब ५० लाख रुपियाँको लागतमा विद्यालय वरिपरि बायो इन्जिनियरिङ प्रविधिबाट रिटेनिङ वाल, ग्याभिन वाल र बिरुवा रोप्नेलगायतका कार्य भइरहेको सिड्स नेपाका अध्यक्ष घिमिरेले भन्नुभयो, “पहिलोले विद्यालय भवन र शौचालय पूरै ढल्न लागेको थियो । अहिले ५० प्रतिशत पहिरो व्यवस्थापनको काम सकिएको छ ।”
बाढीपहिरोले जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा गरी २५ वटा विद्यालयका भवनमा क्षति गरेको थियो । तीमध्ये पाँच वटा विद्यालयका सबै भवन पूर्णरूपमा र २० वटा विद्यालयमा आंशिक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।