• २४ जेठ २०८२, शनिबार

छ साहित्यिक स्रष्टा सम्मानित

blog

सम्मानित साहित्यकार । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २४ गते । पुतलीबजार नगरपालिका–१ मा छ जना साहित्यिक स्रष्टा सम्मान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान, रचना वाचन एवम् रजस्थल साहित्यिक पत्रिकाको शताङक विमोचन कार्यक्रममा सम्मान गरिएको हो । 

यहाँ प्रतिष्ठानले स्थापना गरेको कालीगण्डकी साहित्य कला पुरस्कारबाट राइपुर तनहुँ(हाल चितवन)का डाक्टर धनेश्वर भट्टराई, पुतलीबजार नगरपालिका–१४ का तुलसी गिरीले स्थापना गरेको यानीति साहित्य पुरस्कारबाट वालिङ नगरपालिका–१२(हाल ललितपुर) का शान्ति सापकोटा, राङखोला लक्ष्मी स्मृति पुस्तकालयले स्थापना गरेको महाकवि देवकोटा पुरस्कारबाट जलजला–५ पर्वतका डाक्टर जगन्नाथ रेग्मी सम्मानित हुनुभएको हो । 

यस्तै निर्मल गिरी-टुकमायाँ गिरी पर्यावरण पुरस्कारबाट सहिद लखन गोरखाका नारायाणप्रसाद पोखरेल, रुयली स्मृति साहित्य पुरस्कारबाट शंकर पोखरी पर्वत(हाल नवलपुर)का सदानन्द जैसी, बलराम–टोपली देवी स्मृति बाङमय पुरस्कारबाट चम्पानगर चितवनका प्रकाश चापागाईलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले जानाकारी दिनुभयो । 

यहाँ महाकवि देवकोटा पुरस्कार पाउने रेग्मीलाई २० हजार नगद र अन्य पुरस्कार पाउने सबैलाई नगद १५÷१५ हजारनगद सहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको हो । 

लामो समयबाट साहित्यसेवामा समर्पित भई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याउनु भएका साहित्यकार योगदानको उच्च मूल्याङ्कन प्रदान गरिएको सम्मान र पुरस्कारहरु प्राडा. निर्मोही ब्यासले प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा साहित्यकार डा. बिष्णु प्रसाद शर्मा, चिन्तु गिरी, ओम प्रकाश शर्मा, मिलन समिर, सम्भु अर्याल, लिलाम्बर ढुङगाना, लक्ष्मी काफ्ले, श्यामप्रसाद ढुङगाना, सम्झना थापा,  त्रिभुवन शर्मा लगायतले रचना वाचन गर्नु भएको थियो । 

यस्तै स्याङ्जाबाट २०५५ बाट प्रकाशन गरिएको रजस्थल त्रैमासिक साहित्यिक पत्रिकाको शताङ्कको विमोचन समेत गरिएको थियो ।