• १३ असोज २०८१, आइतबार

भुटानी शरणार्थीको गुनासो

blog

भुटानी शरणार्थी शिविर बेलडाँगीमा चौतारोमा बसेका शरणार्थी । इन्सेटमा फोटो खिचाएको प्रमाण र गृह मन्त्रालयमा बुझाएको निवेदन देखाउँदै एक शरणार्थी । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ३० गते । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीले आफूहरूलाई शरणार्थीको दर्जा नदिइएकाले राज्यविहीन भएको गुनासो गरेका छन्। शरणार्थीका रूपमा वर्षौंदेखि शिविरमा रहँदा वास्ता नगरिएको तर शिविर नै नटेकेकाले शरणार्थीको मान्यता पाएको सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ।

रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन्। उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो तर यसरी राष्ट्रियताविहीन बनाउन भएन।”

भुटानी शरणार्थी शिविर बेलडाँगीका ५५ वर्षीय मधुलाल चापागाईंले भुटानबाट आएर शिविरमा रहेको र परिवारका धेरै सदस्य तेस्रो देश पुनर्वास भइसकेको अवस्थामा बिनाकारण आफूहरूलाई राज्यविहीन बनाइएको गुनासो गर्दै भन्नुभयो, “फोटो पनि खिचिएको थियो तर पछि शरणार्थी परिचयपत्र उपलब्ध गराइएन।”

बेलडाँगी–२ हालको ‘सी’ चार ३८५ र पुरानो ‘जी’ दुई १४ हटमा बसोबास गर्दै आउनुभएका चापागाईंले आफ्ना आमाबाबु र दाजुभाउजूको सबै परिवारसहित तेस्रो देश पुनर्वास भइसके पनि आफूले अहिलेसम्म शरणार्थीको दर्जा माग्न हारगुहार गरिरहनुपरेको बताउनुभयो। “मलाई जन्म दिने आमाबाबु तेस्रो देश पुगिसक्नुभयो तर म चाहिँ भौँतारिइरहेको छु,” उहाँले भन्नुभयो।

भुटानमा रहँदाका सबै कागजपत्र पेस गरेको, सरजमिन मुचुल्का बनाएको र फोटोसमेत खिचिसकेको अवस्थामा आफू चाहिँ शरणार्थी नहुने तर नक्कली भुटानी शरणार्थी बनेर विदेश जाने भन्ने सुन्दा मन धेरै रोएको छ भन्दै उहाँले आफूहरूलाई राष्ट्रियताविहीन बनाइएको आरोप लगाउनुभयो। 

शिविरभित्र रहनुभएका ६७ वर्षीय पदमलाल पोखरेलले शिविरमा कहिल्यै नआएका र शिविर नै नदेखेकालाई शरणार्थी बनाएर अमेरिका पठाउने काम भएको तर आफूहरू भने शिविरमा धुरुधुरु रुँदै बसेको बताउनुभयो। “हामी वास्तविक शरणार्थीले चाहिँ शरणार्थी परिचयपत्र र पाउनुपर्ने सुविधा पाएका छैनौँ तर नक्कलीले पाएको सुन्दा धेरै नै मन रोएको छ,” उहाँले गुनासो गर्नुभयो, “हामीबाट रकम उठाउन नसक्ने भएकाले र दिन सक्दैनन् भनेर सक्कली शरणार्थीलाई पाखा लगाइयो। नक्कलीलाई सक्कली शरणार्थी बनाउने योजना बुनिँदोरहेछ।” 

बेलडाँगी–३ का ६८ वर्षीय राम प्रधानले शरणार्थी शिविरमा नै बुढो भइसकेको उल्लेख गर्दै आफूहरूलाई अहिलेसम्म अन्योलमा राख्ने काम भएको बताउनुभयो। “हाम्रो नाममा अरूलाई शरणार्थी बनाउने भएर हामीलाई अहिलेसम्म शरणार्थीको मान्यता नदिएको रहेछ भन्ने लाग्न थाल्यो,” उहाँले प्रतिप्रश्न गर्नुभयो, “हामी शरणार्थी होइनौँ र भुटानबाट आएका होइन रहेछौँ भने शिविरमा किन राखियो ?”

भुटानी शरणार्थी शिविरमा विभिन्न कारणले फोटो खिच्न छुटेका, प्रमाणीकरण भएका बेला अन्यत्र काम विशेषले गएका, शिविरभन्दा बाहिर तथा अन्यत्रबाट विवाह गरेर ल्याएका महिला र विवाह गर्ने भुटानी शरणार्थी पुरुष अहिले शिविरमा आफ्नो पहिचान खोज्दै बसेका पाइएको छ। उनीहरूले बारम्बार गृह मन्त्रालय, शरणार्थी समन्वय एकाइलगायतका सरोकारवाला निकायलाई लिखित रूपमा माग बुझाइसकेका छन्। बिचौलियालाई रकम नदिएका कारण र रकम दिने हैसियत नभएका कारण आफूहरूको परिचयपत्र नबनेकाले शरणार्थीका रूपमा अहिलेसम्म पुनर्वासमा जान नपाएको गुनासो धेरैको छ।