• ७ मंसिर २०८१, शुक्रबार

डिजिटल उपकरणको प्रयोगले आँखाको समस्या बढ्दै

blog

आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठ ।

काठमाडौं,वैशाख ३१ गते । पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ ।  

आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको  अत्याधिक प्रयोगले कम्प्युटर भिजन सिण्ड्रोमको समस्या बढ्दै गएको बताउनुहुन्छ । यस्ता उपकरणको धेरै प्रयोगले पछिल्लो समय आँखा र शरीरका विभिन्न अंगमा समस्या देखिन थालेको डा. श्रेष्ठको भनाइ छ । 

एक अध्ययनका  अनुसार हरेक मानिसले प्रत्येक दिन औसतमा सात घण्टा डिजिटल उपकरण चलाउने गर्दछन् । जसमध्ये ५० देखि ८० प्रतिशत मानिसमा विभिन्न आँखाको समस्या देखिने गर्दछ ।  

 के हो कम्प्युटर भिजन सिण्ड्रोम ? 

कम्प्युटर, ल्यापटप, मोबाइल, जस्ता विद्युतीय उपकरणको अत्याधिक प्रयोगले आँखालगायत  शरीरका विभिन्न अंगमा देखिने समस्यालाई कम्प्युटर भिजन सिण्ड्रोम भनिने चिकित्सकको भनाइ छ । 

डिजिटल  उपकरणको स्क्रीनबाट निस्कने ब्लु लाइट (निलो प्रकाश)ले यस्तो समस्या निम्ताउने आँखा रोग विशेषज्ञ डा.श्रेष्ठको भनाइ छ । 


लक्षण

 कम्प्युटर भिजन सिण्ड्रोमले गर्दा टाउँको दुख्ने, आँखा, गर्दन, घाँटी र शरीर दुख्ने थकाइ लाग्ने, निन्द्र नलाग्ने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा आउने चिकित्सकको भनाइ छ । 

त्यसका अलाव आँखा सुख्खा हुने,  आँखा दुख्ने,  चिलाउने, बिझाउने, थाक्ने, रातो हुने र आँखामा स्ट्रेस हुने जस्ता थुप्रै आँखासम्बन्धी समस्या देखिने डा. श्रेष्ठको भनाइ छ । 

सामान्य तय एक मिनेटरमा १५–१६ पटक आँखा झिम्काउनुपर्ने हुँन्छ । पछिल्लो समयमा  कामको व्यवस्थाले आँखा नझिम्काई लामो समय स्क्रीनमा लगातार हेर्दा यस्तो समस्या निम्तने गरेको चिकित्सकको बुझाई छ ।  

बच्ने उपाय

लामो समय एकै ठाउँमा बसेर डिजिटल सामग्रीको प्रयोग गर्दा कुर्सी प्रयोग गर्नुहुन्छ र आँखा र कम्प्यूटरबीचको दूरी मिलाएर राख्ने डा.श्रेष्ठको सुझाव छ । यसबाट बच्न २० मिनेट काम गरेपछि  आँखालाई २० सेकेण्ड विश्राम दिने र  २० फिट टाढा हेरेर आँखा झिम्काउन सुझाव छ । 


लामो समय डिजिटल साम्रगीको प्रयोग गर्दा बुलुकट चस्मा लगाउने, आँखा र कम्प्युटरको बीचमा एक हातको दूरी राख्न आँखा रोग विशेषज्ञको सुझाव छ । बाहिरी वातावरणको उज्यालो र कम्प्युटरबाट निस्कने उज्यालो तीन गुण बढी वा तीन गुण कम हुनु हुँदैन । आँखा रोग विशेषज्ञका अनुसार बाहिरी वातावरणको उज्यालो भन्दा कम र बढी उज्यालो कम्युटर हेर्दा बनाउनु हुँदैन । यसले आँखामा असर गर्छ । त्यसका अलावा कम्युटरको स्क्रीन आँखाको लेबल भन्दा तल राख्दा पनि यस्तो समस्याबाट बच्न सकिने चिकित्सको भनाइ छ ।आँखामा यस्ता लक्षण देखिए तुरुन्त आँखा रोग विशेषज्ञलाई देखाउन चिकित्सको सुझाव छ । 

पछिल्लो समय धेरैलाई समस्याको रुपमा देखा परेको  कम्प्युटर भिजन सिण्ड्रोमको विषयमा आँखा रोग विशेषज्ञसँग प्रा‍. डा. सविना श्रेष्ठसँगको कुराकानीको आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।