• १२ पुस २०८१, शुक्रबार

राजपत्र होइन गोरखापत्र

blog

अखबारलाई इतिहासको पहिलो मसौदा मान्ने विश्वभरकै प्रचलन हो । अर्थात् छापा माध्यमलाई सर्वत्र नै ताजा समाचारको स्रोत मात्र होइन, इतिहासकारको पहुँचमा रहने अभिलेखालय समेत मानिन्छ । छिमेकी भारतका पत्रकार बी.जी.भर्गीज (सन् १९२७–२०१४) ले आफ्नो संस्मरणात्मक पुस्तकको नाम नै पहिलो मसौदा ‘फस्र्ट ड्राफ्ट’ राखेका थिए । बेलाइत, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरूमा पनि त्यहाँका केही प्रमुख खबर कागजलाई घटनाहरूको अभिलेखको रूपमा चिनिन्छ । नेपालमा यो स्थान लामो समयदेखि गोरखापत्रले पाउँदै आएको छ । वि.सं. १९५८ मा प्रकाशनमा आएको यो छापा ‘नेपालको जेठो जीवित पत्रिका’ हो भनेर ग्रीष्मबहादुर देवकोटाको पुस्तकमा वि.सं. २०२४ मै उल्लेख भएको पाइन्छ । अचेल बरोबर सामाजिक सञ्जाल र अन्य माध्यममा पहिले–पहिले गोरखापत्रमा छापिएका खबरका टुक्रा–टाक्री छायाचित्र भएर आउने गरेका छन् । इतिहासको मसौदाका यी झलकहरू देख्दा रमाइलो लाग्छ ।

उदारमना राणा प्राइम्मिनिष्टर देवशम्शेरको इच्छा र प्रेरणाबाट गोरखापत्र (उस बखत ‘गोर्खापत्र’) प्रकाशित हुन थालेको प्रसङ्‌ग ठाउँ–ठाउँमा भेटिन्छन् । यसै क्रममा जानकारीमा आउने ‘सनद’मा त्यस बखतका शासकले गोरखा पत्रिकामा ‘छापने’ र ‘नछापने’ विषयहरू पनि तोकिएका थिए । ‘अनोठा अनोठा कुरा’ छाप्न हुने कित्तामा परेका छन् भने ‘हाम्रो तारीफका कुरा नछापनु’ भन्ने शब्दावलीले छाप्न नमिल्ने विषयतर्फ इङ्‌गित गर्दछ । समयको अन्तरालमा यी मार्गदर्शनको के के कति पालन भयो, भएन त्यसको छुट्टै अध्ययन हुन सक्छ । किनभने फरक–फरक समयमा मुलुक सञ्चालन गर्ने सञ्चालक (शासक) भिन्नभिन्न पृष्ठभूमिका व्यक्तिहरू हुन गए । 

वि.सं. २००७ को परिवर्तनपश्चात् गोरखापत्रको छपाइ समय–समयमा फेरिएका सरकारको मनसाय अनुसार हुने गथ्र्यो । जे होस्, देवशम्शेरको सनद पढ्ने जोसुकैले उनमा आधुनिक युगको थालनीमा विकसित हुँदै गएको पत्रकारिताबारे सही चेत भएको अनुमान गर्न सक्दछ । छाप्न हुने कुरामा श्री ३ र मुखत्यारका ‘इसपीच’ (भाषण) मात्र पर्दैनन् तिनमा ‘पहाड मदेसमा जुलुम भयाको कुरा’ अनि ‘कसुर भै हाकिमहरू अदली बदली भयाको कुरा’ जस्ता घटना–विकास पनि सार्वजनिक जानकारीमा आउनुपर्छ भन्ने शासकीय मान्यता रहेको देखिन्छ । अर्को शब्दमा, गोरखापत्रलाई शासकका भाषण वा सरकारी आदेश, उपदेश मात्र छाप्ने माध्यम नबनाएर त्यसलाई देश–देशावरका घटना, दुर्घटनाका बेहोरा, विवरणहरू जनसमक्ष पु-याउने माध्यम (प्रकाशन) पनि बनाउन खोजिएको थियो । यो नीति आजपर्यन्त कायम देखिन्छ ।

आधिकारिक स्रोत

राष्ट्राध्यक्ष र सरकारप्रमुखका भाषण, ऐन–कानून, सूचना, आदेश आदिको आधिकारिक स्रोत भनेर चिनिने राजपत्र बेग्लै हो, समाचार र तिनउपरका विचार (सम्पादकीय), विज्ञापन समेतका सन्देश जनसमक्ष प्रवाहित गर्ने अखबार गोरखापत्र बेग्लै हो । प्रकाशन थालिएपछिको करिब ५० वर्ष अर्थात् २००७ सालसम्म गोरखापत्रले दोहोरो भूमिका खेल्नुपरेको परिवेशसँग अहिलेको परिस्थितिलाई दाँज्न मिल्दैन । २००८ साल साउनमा नेपाल राजपत्र (उतिखेर ‘नेपाल गजेट’) को प्रकाशन हुन थालेयता गोरखापत्रले विशुद्ध सरकारी सूचनाको माध्यम बन्नुपर्ने अवस्था पनि रहेन । अनि, २०१९ सालमा तर्जुमा भएको एक ऐनले गोरखापत्र सञ्चालनको अलग्गै थिति बसालिदिसकेको छ । 

स्पष्टै छ, यतिसम्मको पृष्ठभूमि बुझ्ने जोसुकैले समाचारपत्र र राजपत्रको प्रयोजन सजिलै ठम्याउन सक्छ । त्यसमाथि पत्रकारिता पढाउने, अनुसन्धान गर्ने र पुस्तक लेख्नेहरूले पत्रकारिताको सन्दर्भमा आउने ऐतिहासिक पाटोलाई जानकारीमा नराख्ने कुरै हुँदैन । तर यदाकदा यस वास्तविकतातिर आँखा चिम्लेर कतै–कतैबाट गोरखापत्रप्रति आग्रह, पूर्वाग्रह प्रकट गरेको देखिन्छ । तर आधारबिना लाग्ने यस्ता आक्षेपलाई महत्व दिइरहनु पर्दैन । 

गोरखापत्र र अङ्‌ग्रेजी दैनिक राइजिङ नेपालका समाचार विश्वसनीय र भरपर्दा हुन्छन् । जनसाधारणलाई सुसूचित गर्ने उद्देश्यले छापिएका हुन्छन्, जुन कुरा निजीक्षेत्रका सबै ‘स्वतन्त्र’ छापा वा माध्यमका सम्बन्धमा यकिनसाथ भन्न सकिँदैन । 

‘मधुपर्क’को गणना एक स्तरीय साहित्यिक पत्रिकाको रूपमा गरिन्छ । युवामञ्च र मुना पढ्ने, रुचाउनेहरूको पनि आ–आफ्नो समुदाय छ । यी प्रकाशन (र यिनका अनलाइन संस्करण) सँग सम्बद्ध सञ्चारकर्मी, लेखक, स्रष्टाहरू स्वतः आदरणीय छन् । 

विगत केही वर्षयता गोरखापत्र र राइजिङ नेपालको लोकप्रियता बढेको छ; हुनुपर्छ । तथापि यो यश गोरखापत्रलाई परम्परागत रूपले आर्जित चिनारीमा सीमित गराउन मिल्दैन । हुन त यस्तो निचोड निकाल्न सहयोगी हुने पाठक सर्वेक्षणजस्तो कुनै आधार तत्काल भेटिँदैन परन्तु यी छापामा हालैका वर्षहरूमा पाइन थालेका पाठ्यसामग्रीले यिनको साखमा वृद्धि गराइरहेको कुरो ठम्याउन गाह्रो पर्दैन । भनौं, यो प्रकाशन संस्था अचेल पैतृक सम्पत्तिको आयस्ता वा ब्याजमा मात्र निर्भर रहने सन्तानजस्तो छैन । आजकल आफ्नै बाहुबलले आर्जित विश्वसनीयताको आडमा देश–परदेशका नेपाली समुदायलाई सकारात्मक प्रभाव पार्न यसका प्रकाशनहरू सहायक भएका छन् ।

निजी संवाददाता

गोरखापत्र र राइजिङ नेपाल दुबै पत्रिका अचेल नेपालसम्बन्धी खबरका लागि राष्ट्रिय समाचार समिति (रासस) स्रोतका समाचारलाई घटाएर आफ्नै संवाददाताहरू परिचालन गरी जनरुचि र जनचासोका समाचारको परिमाण बढाउन सक्रिय देखिन्छन् । 

सतही सूचनामा आधारित खबर र औपचारिक समाचारमा सीमित नरहीकन परिश्रमसाथ खोजी गरिएका जानकारीमा आधारित समाचार पाठकहरूलाई उपलब्ध गराउँदै आएका छन् । 


पशुपतिनाथ मन्दिरको चल–अचल सम्पत्ति हिनामिना र दुरुपयोग भएका घटनाको समाचार श्रृङ्‌खला यस सिलसिलामा उदाहरण कहलिने पाठ्यसामग्री हो । त्यो २०७९ को सन्दर्भ थियो भने २०८० सालको आरम्भमा सरकारी निकायका विवरण (डाटा) तिलस्मी ढङ्गले हराएको विषय जनसमक्ष पु-याउने काम गोरखापत्रले गरेको छ । झाङ्गिँदो भ्रष्टाचार एवं अख्तियार दुरुपयोगका मामिलाबारे बेला–बखत राइजिङ नेपालमा पनि सघन प्रस्तुति हुँदै आएका छन् । 

यसरी जन‍–जागरण बढाउने समाचार छाप्न, प्रसार गर्न निजी लगानीकर्ताका छापा समेतका माध्यमलाई कतैबाट अवरोध थिएन; छैन । तर जनसेवामा भन्दा आफ्नो ध्यान नाफामा केन्द्रित गर्ने यस्ता सञ्चारगृहले यस्ता जसोपयोगी समाचारलाई प्राथमिकतामा पार्न रुचाएको देखिँदैन । हो, कहिलेकाहीँ सन्‌सनी पैदा गर्ने समाचार आउने गर्छन् तर तीमध्ये कुन चाहिँ जनसाधारणलाई सुसूचित गर्ने ध्येयले छापिएको हो र कुन चाहिँ कुनै व्यवसायी वा राजनीतिमा लागेको व्यक्तिसँग सौदाबाजीका लागि प्रक्षेपण गरिएको हो छुट्याउन गाह्रो पर्ने हुन्छ । 

जे भए तापनि, गोरखापत्रले खोजपूर्ण र गहन समाचार लेख्ने संवाददातालाई लेखक–श्रेय (बाइ–लाइन) दिने परिपाटीलाई उदार तुल्याउँदै गएको हुनाले तिनलाई जागरुक औ जिम्मेवार हुने हौसला प्राप्त भएको होला । साथै, सूचना–प्रविधिमा भइरहेको परिमार्जनले सूचना सङ्कलनको काम पहिले–पहिलेको दाँजोमा सरल हुँदै आएको छ । यसको प्रत्यक्ष लाभ संवाददाताले पाउँछन् भने अप्रत्यक्ष लाभांशको दाबी पाठक–श्रोता–दर्शकको समुदायले गर्न पाएको छ ।

गोरखापत्रमा छापिने सूचना र समाचारहरू आधिकारिक र भरपर्दा हुनु सन्तोषको कुरा हो, तर यति हुनु मात्र पर्याप्त नहुने रहेछ । गोरखापत्रका सञ्चारकर्मीहरूले भाषालाई सरल र शैलीलाई सरस राख्न पनि उत्तिकै चनाखो हुनुपर्ने देखिन्छ । किनभने अखबार भनेको सामान्य साक्षर नागरिकले समेत सहजसँग बुझ्न पाउनुपर्ने पाठ्यसामग्री हो । अतएव, सञ्चारकर्मीले देशको शैक्षिक स्तर, भौगोलिक परिवेश, सांस्कृतिक विविधता र आर्थिक अवस्थासम्मको हरघडी हेक्का गर्नैपर्छ । यी र यस्तै अन्य पक्षमा ध्यान पुगेन भने मेहनतसाथ लेखिएको र प्रस्तुत गरिएका समाचार, विवेचनाहरू पाठकहरूको ठूलो सङ्ख्याबीच पुग्नै पाउँदैनन् सञ्चारकर्मीकै मेहनत पनि खेर जान्छ । मेरो यस कथनको पुष्टि गर्ने दृष्टान्त हुनसक्छ माथि चर्चित सरकारी निकायका ‘डाटा’ हराएको विषयमा १४ र १५ वैशाखमा प्रकाशित पहिलो पृष्ठका समाचार । यी दुबै दिनका समाचार बहुसङ्ख्यक पाठकको क्षमताले टिप्न, बुझ्न नसकिने हुन पुगेका छन् । लिपि देवनागरी भए पनि भाषा नेपाली नभएझैँ भयो । अङ्ग्रेजीमा पनि अति प्राविधिक जँच्ने शब्दहरू सरोबरी फेला पर्छन् । त्यहाँ बाक्लो प्रयोगमा आएका एक–दुई शब्द हेरौँ । पहिलो शब्द हो ‘डाटा’ (म्बतब) । ‘डेटा’ उच्चारण हुने यो अङ्‌ग्रेजीको नेपाली अर्थ हुन्छ : तथ्य वा तथ्याङ्‌क । कुनै–कुनै शब्दकोशमा यसलाई ‘आधार–सामग्री’ पनि भनिएको छ । अर्थ फरक परेन । अर्को शब्द हो ‘रिकभरी’ (च्भअयखभचथ) । छरितो नेपालीमा लेख्दै जाँदा यसलाई ‘पुनःप्राप्ति’ वा ‘प्रत्युपलब्धि’ लेखे हुने रहेछ । भन्नु परोइन, सञ्चारकर्मीको भाषाले समाजका अन्य अङ्‌गलाई पनि मार्गदर्शन गरिरहेको हुन्छ । भनौँ, मार्गदर्शक हुने अवसर छ । तसर्थ यस्तो मौका किन गुमाउने ?

जेठो अखबार भएकोले गोरखापत्र सजग हुनैपर्छ । किनभने अगुवाका विशिष्ट दायित्वहरू हुन्छन् ।