- “यो धर्ती कुकुरहरूको पनि हो, महानगर कुकुरको अभिभावक बन्न प्रयास गर्दैछ” — नुरनिधि न्यौपाने
काठमाडौँ, कात्तिक १४ गते । काठमाडौँ महानगरपालिकाले चार हजार सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । महानगरभित्र रहेका ३२ वडाका सामुदायिक कुकुरहरूको नियन्त्रण र स्वास्थ्य सुधारका उद्देश्यसहित पाँचवटा सङ्घ संस्थासँग सम्झौता गरी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान अघि बढाइएको हो ।
आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरले सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोपका लागि इच्छुक सङ्घसंस्थाबाट असोज २२ गते आवेदन माग गरेको थियो ।
काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार पहिलो चरणमा करिब एक करोड रुपियाँको बजेटमा चार हजार कुकुरको बन्ध्याकरण गरिनेछ । उहाँले बन्ध्याकरण कार्यलाई व्यावसायिक नभई सेवाभावले गर्न सङ्घ संस्थाहरूलाई आग्रह गर्दै भन्नुभयो,
“यो धर्ती कुकुरहरूको पनि हो । महानगर कुकुरहरूको अभिभावक बन्न प्रयास गर्दैछ । कुकुर लगेर रिकभरी नभएसम्म नछोड्नुहोस्, कठिनाइ आएमा फेरि छलफल गर्नेछौं।”
आगामी पुस महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा अर्को चरणमा थप चार हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको न्यौपानेले जानकारी दिनुभयो ।
कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरण कार्यका लागि महानगरका वडाहरू यसरी तोकिएका छन् —
- क्याट सेन्टर क्लिनिक
- क्याट सेन्टर : वडा नं. ७, ९, १५, १६, १७, १९, २०
- क्याट क्लिनिक : वडा नं. ११, २१, २२, २४, २८, ३०
- मण्डला भेटेनरी हस्पिटल: वडा नं. ६, १०, २३, २५, ३१, ३२
- स्नेहाज केयर : वडा नं. २, ८, १२, १३, १४, २९
- एसपीसीए नेपाल : वडा नं. १, ३, ४, ५, १८, २६, २७
सम्झौताअनुसार सङ्घसंस्थाहरूले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण र खोप कार्य गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिरसहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने र आवश्यक औषधि तथा रेबिज खोप सङ्घसंस्थाले आफैं खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्य सम्पन्न प्रमाणित भएपछि प्रति जनावर दरका आधारमा ८० प्रतिशत रकम तत्काल र बाँकी २० प्रतिशत अन्तिम प्रतिवेदनपछि भुक्तानी गरिनेछ । बन्ध्याकरणपछि इयर नाेट्च लगाइने र खोप लगाइसकेपछि शरीरको देखिने भागमा हरियो रङ लगाएर चिन्ह लगाइनेछ । बन्ध्याकरण गरिएका जनावरको स्वास्थ्य अवस्था तीन महिनासम्म निगरानी गर्न सङ्घसंस्थाकै जिम्मेवारी हुनेछ ।
यदि बन्ध्याकरण वा खोप नगरी दाबी प्रमाणित भएमा सो संस्थालाई प्रति जनावर एक लाख रुिपयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीसम्मको कारबाही हुने व्यवस्था गरिएको छ । सम्झौता २०८३ साल असार २० सम्म कायम रहनेछ ।
महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर दुई हजार ५ सय रुपियाँ तोकेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यसपछि २०८१/०८२ मा ६ सय ७० वटा बन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो ।
काठमाडौँ महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य, जनसङ्ख्या नियन्त्रण र मानव–पशु सहअस्तित्वका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ । यसको दीर्घ उद्देश्य काठमाडौँलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी सहरका रूपमा विकास गर्नु रहेको महानगरले जनाएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                