• १३ असोज २०८१, आइतबार

सुकेटारमा डेढ सातापछि उडान सुचारु

blog

सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज । फाइल तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख २२ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा बन्द भएको हवाई सेवा (उडान) डेढ सातापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजमा देखिएको प्राविधिक समस्या र निरन्तर मौसममा आएको खराबीका कारण गत साताको बुधबारदेखि अवरुद्ध बनेको उडान सुचारु भएको हो ।

नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित निमित्त स्टेसन इन्चार्ज सचिन तिवारीका अनुसार शुक्रबार मौसम खुलेसँगै उडान सुरु भएको हो । अब मौसम सुधार भएमा नियमित उडान हुने निमित्त स्टेसन इन्चार्च तिवारीले बताउनुभयो । 

उहाँका अनुसार शुक्रबार काठमाडौंदेखि १४ जना यात्रु बोकेर नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज ताप्लेजुङ आएको थियो । ताप्लेजुङबाट पनि १४ जना नै यात्रु लिएर जहाज काठमाडौं फर्किएको उहाँले जानकारी दिनुभयो । 

यता, पर्यटकीय मौसम भएकाले उडान अवरुद्ध हुँदा ताप्लेजुङमा रहेको कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकलगायतका यात्रुले हवाई सेवाबाट बञ्चित हुनुपरेको छ । यस्तै हवाई सेवा बन्द हुँदा कतिपय काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा उपचार सेवा लिन जानुपर्ने विरामीसमेत मारमा पर्नेगरेका छन् ।

निगमको ट्विनअटर जहाजले सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान भर्ने गरेको छ । नेपाल वायु सेवा निगमबाहेक निजी विमान कम्पनी सीता एयरलाइन्सले सुकेटारमा उडान सञ्चालन गर्नेगरेको छ । सीता एयरलाइन्सको जहाज पनि मौसम र अन्य कारणले नियमित उडान नहुँदा यात्रु हवाई सुविधाबाट बञ्चित हुनेगरेका छन् ।