कुनै दिन खबर भई पुग्ने छु
म, तिमीकहाँ
तिमी पनि मात्र खबर भई आउने छौ
मकहाँ कुनै दिन ।
तिमीले पर्खेको भए सके म बोलाउने थिएँ होला
मैले बोलाएको भए
सके तिमी फर्कने थियौ होला
तर त्यो हुन सकेन
र जीवन अघि बढ्यो
समय पर्खंदो रहेनछ कसैलाई
लाग्थ्यो त्यस बखत
माया हाम्रो
बाँच्ने र मर्ने छ हामीसितै
तर त्यो भएन
र हामी दुवै हरायौँ कतै ।
सके तिमी पुरुषको स्वच्छन्द स्वरूप थियौ
कुनै बन्धनमा बाँधिएर बस्न नचाहने
र म नारीको भावनात्मक रूप
मायामा पनि सदा संरक्षण खोज्ने
तर त्यो माया हाम्रो
के मात्र आकर्षण थियो त
त्यो उमेरमा सबैलाई हुनसक्ने ।