तिम्रो मनको वर्णपटबाट
छिर्छ मेरो प्रेमको सेतो किरण
र निस्कन्छ अनेक रङको अवतार लिएर..!
रातो
सुन्तला
पहेँलो
हरियो
निलो
नीर
र बैजनी !
र यी रङहरू मिसिएर बन्छन् प्रेमका अन्य रङहरू..!
अन्य इन्द्रेणीहरू..!
जसरी तिम्रो प्रेमको सेतो रङ
छिर्दा मेरो मनको वर्णपटबाट
मैले यही बोध गरेको छु यौवनभरि ।
रातो रङमा मेरो प्रेम लाग्यो होला रगतजस्तो न्यानो
कहिले लाग्यो होला कालो, कुनै औँसीको रातजस्तो
(रातको रङसँग पनि मेरो उत्तिकै प्रेम छ
जति दिनको उज्यालोसँग ।)
कहिले लाग्यो होला आकाशजस्तै निश्छल नीलो
र यौनातुर
कहिले लाग्यो होला रङ्गमञ्चको
प्रकाशजस्तो चञ्चल र छली !
तिम्रो मनको वर्णपटबाट
छिर्दा मेरो प्रेमको सेतो किरण
कहिले
उदासीको रङ पोतियो होला तिम्रो हृदयमा
कहिले
आवेशको रङ टाँसियो होला तिम्रो छातीमा
जसरी मैले अनुभव गरेको छु जीवनभरि ।
मेरी मायालु
वर्णपटबाट छिरेको सेतो
किरणजस्तै हुन्छ मानिसको प्रेम
जसमा लुकेका हुन्छन् हामीले तत्काल नदेख्ने
कैयौँ अदृश्य रङहरू !
वा हुन्छ प्रेम कुनै कविताजस्तो
जसमा लुकेका हुन्छन् हामीले तत्क्षण नदेख्ने
अनेकौँ अदृश्य अर्थहरू..!
मेरी मायालु
जीवनको प्रयोगशालामा बसेर वर्णपट हेर्दै
केवल म सोचिरहेछु मेरो प्रेम र तिम्रो बारेमा,
र ठानिरहेछु–
मानिसको हृदय रहेछ केवल एक वर्णपट
जसबाट छिर्छ प्रेमको सेतो किरण
र निस्कन्छ अनेक रङको अवतार लिएर ।