• १३ असोज २०८१, आइतबार

सांसदकै नेतृत्वमा विरोध प्रदर्शन

blog

खोटाङ समाचारदाता

खोटाङ, वैशाख १८ गते । सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।  

दुई खण्डमा विभाजन गरेर कालोपत्रेको काम सुरु गरिएको महुरे–फोक्सिङटार सडकखण्डको काम लामो समयदेखि अलपत्र छ। अलपत्र सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग राख्दै सांसद राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडाध्यक्षलगायत स्थानीय बासिन्दाले चक्का जाम गरेका हुन्। सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएको महुरेमा सांसद राईलगायतले सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए।

काम गर्छु भनेर सधैँ ढाँटिरहने ठेकेदार सडक कालोपत्रेको काम अलपत्र पारेर हिँडेकाले विरोधमा चक्काजाम गर्नु परेको सांसद राईले बताउनुभयो। वैशाखभित्र निर्माण स्थलमा फर्किएर ठेकेदारले काम गर्न सुरु नगरे जेठको पहिलो हप्ताबाट आमहड्ताल गर्ने सांसद राईको चेतावनी छ।   

महुरे–फोक्सिङटार सडकको दुई खण्डमध्ये महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी र सिमपानी भन्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ। शाहीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। थपिएको म्याद २०८० असार मसान्ताम सकिनेछ तर गत पुसबाट निर्माण स्थलदेखि सामान लिएर निर्माण कम्पनी बेपत्ता छ । निर्माण कम्पनीका मुख्य ठेकेदार दीपेन्द्रबहादुर शाही नेपाली कांग्रेस डोल्पाका सभापतिसमेत रहेको बताइएको छ । 

यस्तै देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सिमपानी भन्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम पनि अलपत्र छ। यस निर्माण कम्पनीका मुख्य ठेकेदार मदन अधिकारी नेकपा (एमाले)मा पहुँच राख्ने बताइन्छ। 

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे महुरे–फोक्सिङटार सडकले स्थानीय बासिन्दा र यात्रुलाई सधैँ सास्ती दिइरहेको छ।