काठमाडौँ, वैशाख १८ गते । सङ्घीय संसद्को दुई सदनका सचिव सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आआफ्नो सदनको सचिव सिफारिस गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । संविधानको धारा १०६ मा सभामुखको सिफारिसमा प्रतिनिधि सभा र अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव नियुक्तका लागि सिफारिस हुने व्यवस्था छ । सिफारिसअनुसार राष्ट्रपतिबाट सचिव नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभामा नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा डा. सुरेन्द्र अर्याल सिफारिस हुनुभएको छ । पाण्डेय सरकारी वकिल समूहका सबैभन्दा वरिष्ठतम नायब महान्यायाधिवक्ता हुनुहुन्छ । उहाँ सहसचिवबाट सरकारी वकिल समूहमा सेवा प्रवेश गर्नुभएको हो । यस्तै संसद् सेवाकै सहसचिव अर्याल अहिले सार्वजनिक लेखा समिति सचिवमा कार्यरत हुनुहुन्छ ।