काठमाडौँ, वैशाख १८ गते । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा असन्तुष्टि देखिएको छ । बढुवा निष्पक्ष नभएको निष्कर्षसहित प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिनुभएको छ ।
अर्का प्रहरी उपरीक्षक नान्तिराम गुरुङले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाइल सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती दिनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिका सदस्य सचिव सन्दीप भण्डारी नेतृत्वको समितिले वैशाख १५ गते १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय पारदर्शी र न्यायसङ्गत नभएको निष्कर्षसहित एसपी तिम्सिनाले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले आफैँमाथि अन्याय हुँदा नागरिकको सेवा गर्ने मनोविज्ञान नरहने बताउनुभएको छ ।
त्यसैगरी एसपी गुरुङले बढुवा समितिले कार्यक्षमताका आधारमा बढुवा गरेको भन्ने तर्कमा तथ्य नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यसम्पादन मूल्याङ्कन फाराममा मैले सम्पादन गरेको कार्य बुँदागत भरेर पेस गरेको छु । उहाँहरूले बढुवा गरेको व्यक्तिको र मेरो कार्यसम्पादन फारामको विवरण सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती दिन्छु ।”