• १३ साउन २०८१, आइतबार

‘औद्योगिक क्षेत्रको विकासमा सरकार गम्भीर’

blog

काठमाडौँ, वैशाख १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । 

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको १८औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री रिजालले औद्योगिक क्षेत्रभित्रका समस्या समाधान निकाल्न सहज बनाउने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा निजी क्षेत्रलाई समावेश गरिएको भन्दै सहमतिको वातावरण निर्माण गर्दा धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । 

उहाँले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वाधार विकासमा लगाउनुपर्ने रकम बैङ्कमा मुद्दती खातामा राखेर ब्याज खाइरहेको भन्दै आलोचना गर्नुभयो । 

सोे रकम परिचालन गर्न विशेष ध्यान दिन सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिनुभयो । चितवनको शक्तिखोरमा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई आफूले उच्च प्राथमिकतामा राखेको समेत उहाँको भनाइ थियो । 

उद्घाटन समारोहमा बोल्ने उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रमा स्थानीयको अतिक्रमण तथा त्रास, राजनीतिक दलको हेपाहा व्यवहारदेखि स्थानीय सरकार र स्वयं औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमेतले अन्याय गरिरहेको बताएका थिए । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षेत्रमा रहेका जग्गा तथा भवनको भाडामा उद्योगीमाथि अन्याय भइरहेको औँल्याउनुभयो । दशकपहिले स्थापित औद्योगिक क्षेत्र सार्न विभिन्न क्षेत्रबाट दबाब आउने गरेको भन्दै सरकारले तत्काल उचित निर्णय लिन आवश्यक रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले औद्योगिक क्षेत्र स्थापना गर्दा बस्तीबाट टाढा र सुरक्षित स्थानमा राखिएको तर पछि मानव बस्ती स्थापना हुने र त्यही बस्तीले उद्योगलाई आँखी बनाउने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । 

कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष पवन मित्तलले भक्तपुर औद्योगिक क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले हैकम मच्चाइरहेको गुनासो गर्नुभयो । भक्तपुर महानगरपालिकाले पनि विभिन्न बहानामा चर्को कर असुल गरिरहेको आरोप उहाँको थियो । महासङ्घका अध्यक्ष रामहीरा पाठकले उद्योग प्रवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योग प्रवद्र्धकको भूमिकामा नभएर नाफा मात्र हेर्ने निकाय बनेको आरोप लगाउनुभयो । 

मन्त्री रिजालले सोही अवसरमा बालाजु औद्योगिक क्षेत्र परिसरभित्र रहेको महासङ्घको सचिवालय परिसरको पनि उद्घाटन गर्नुभएको थियो । साधारण सभाले रामहीरा पाठकको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । कार्यसमितिमा एजाज आलम, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, बाबुराम पन्त र सुरेश गुरागाईं निर्वाचित हुनुभएको छ ।