• ९ मंसिर २०८१, आइतबार

एकान्त एकालाप

blog

हुन खोज्दैछ एकाकार 

यी मेरा चिसा एकान्तहरू 

एक तमासले नियालिरहेका 

यी साँझहरूबीच 

तर फरक छ यी एकान्त र

ती कठोर स्याँठहरूसँगै 

मुग्लानका गल्लीहरूमा 

रुमल्लिएका छातीका एकान्तबीच 

फरक छ 

ती सुदूर गाउँमा 

भोका आमाशयलाई तातो बनाउनका निम्ति 

जङ्गली कन्दमूलको जोहो गर्ने 

छाउगोठका कलिला आमाका एकान्तबीच 

यी आकाशबाट जून तारा खस्दैनन्

खस्दैन सपनाको बिजन र समृद्धिका कणहरू 

केवल पाखण्डका चिसा लहरहरू झर्छन्

अनि उभ्याइदिन्छ 

नाटककार, गीतकार, शिक्षक, कवि

अनि कथाकारलाई पासपोर्टको लामो 

लामबद्ध लाइनमा 

अनि सँगै लामबद्ध हुन्छन् 

अर्काकै भाषा 

अर्काकै संस्कृति

अर्काकै सभ्यता

किनकि फरक छ

मेरा एकान्त र 

नयाँ किताबको अभिलाषामा 

पुराना किताब च्याती आगो ताप्ने

ती कविता लेख्ने कलिला हातहरूबीच 

मलाई थाहा छ तिम्रो 

स्वास्थचौकीमा एकान्त छ, डाक्टर छैन 

ती भान्सामा भोक छ, आगो छैन 

मैले देखेको छु, अर्काको 

तिर्खाको निम्ति दाइजोको तप्कने गाग्री 

बोकेर फेदतिर झरेको 

जर्जर खेतमा मल सम्झी रोएको 

तर पनि तिमी एकान्तमा रेडियो बटार्छौ 

कतै सुशासनको समाचार पो आउँछ कि 

अझै पनि तिमी बाटो कुरी बस्छौ 

कतै कालापहाडले थिचेको छोरो फर्केर आउँछ कि 

भो छोड पर्खेर बस्न 

भो तोड सङ्कीर्ण सोच्न 

आऊ मिलाऊ पौरखी हातहरू 

लेक बेँसीमा फूल्ने साथहरू 

थकाइ मारौँ इमान र मिहिनेतले 

मेटौँला तीर्खा खोल्सीको पानीले 

नसुकेसम्म यी आतहरू 

माटोमै क्रान्ति गरौँ 

माटोमै मिल्ने शरीरहरू 

माटो मै मिल्ने आत्माहरू... । 


मलेखु, धादिङ