काठमाडौं, वैशाख ८ गते । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ रोज्नुभएको हो । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल ओमानसँग पनि जित निकाल्ने लक्ष्यमा छ ।
प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य लिएको नेपालका लागि ओमानसँगको खेल महत्त्वपूर्ण मानिएको छ । यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । आज नेपालले करण केसीलाई मैदानमा उतारेको छ । मलेसियाविरुद्धको खेलमा रहेका गुलशन झालाई आराम दिइएको छ ।
यता पहिलो खेलमा कतारलाई हराएको ओमान पनि नेपाललाई हराएर अगाडि बढ्ने योजनामा छ । दोस्रो जितको खोजीमा रहेको ओमान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई टोलीबीच यसअघि ६ वटा एक दिवसीय खेल भएका छन् ।
जसमा ओमानले चार र नेपालले दुई खेल जितेको छ । पछिल्लो पटक दुई टोलीबीच आइसिसी विश्वकप लिग-२ सिरिज अन्तर्गत सन् २०२२ को जुनमा प्रतिस्पर्धा भएको थियो । अमेरिकामा खेलिएको यस सिरिजको पहिलो र दोस्रो दुवै खेल नेपालले जितेको थियो ।
ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । आजको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेका लागि पनि विशेष महत्त्व रहेको छ ।
आजको खेलमा विकट लिएमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउनुहुनेछ । सन्दीप यस कीर्तिमानबाट एक विकेटमात्र टाढा हुनुहुन्छ ।
उहाँले ४१ एक दिवसीय खेल्दै ९९ विकेट लिनुभएको छ । एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ ।
खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान तोड्न सन्दीपले आज एक विकेट लिएमात्र पर्याप्त छ ।
एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।
यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।
शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।
ओमानविरुद्ध नेपाल-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।