काठमाडौं, वैशाख ७ गते । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा संचालन भइरहेको नेशनल बुद्धिचाल च्याम्पियनसिपमा बिहीबार तेस्रो र चौथो चरणको खेल सकिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिनुभएको छ । रुपेशले २१औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलाागाईलाई पराजित गर्नुभयो ।
उहाँले चौथो चरणको पुरुषोत्तम सिलवाल माथि कठिन जित निकाल्नुभएको थियो । रुपेशको चार अंक छ । पूर्व नेपाल च्याम्पियन सूरवीर लामा, फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवालको तीन अंक छ ।
महिलातर्फ फिडे मास्टर सुजना लोहनी चार अंक सहित शीर्षस्थानमा हुनुहुन्छ । उहाँले तेस्रो चरणको खेलमा चितवनका लक्ष्मी कँडेललाई हराउनुभयो ।
चौथो चरणको खेलमा उहाँले काठमाडौका रिया श्रेष्ठलाई पाखा लगाउनुभयो । पर्साका सुशिला गुरु र रियो श्रेष्ठको तीन तीन अंक छ । शुक्रबार पाँचौ र छैटौं चरणका खेल हुनेछ।