• २६ पुस २०८१, शुक्रबार

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट

blog

जुडोका उत्कृष्ट खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, वैशाख ७ गते । नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । 

उत्कृष्ट इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जित्नुभयो । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको  थियो । पहिलो दिन बुधबार पनि ७ स्पर्धाको फाइनल भएको थियो ।

दोस्रो दिन पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जित्न्ुभयो । ९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो हुनुभयो । 

१०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउनुभयो । १०० केजीमाथि आर्मीका रन्जेश गोलेले स्वर्ण जित्नुभयो । 

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो हुनुभयो ।

७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीलाई हराउँदै स्वर्ण चुम्नुभयो । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीलाई हराउँदै पहिलो हुनुभयो । 

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघले जनाएको छ ।

दुई दिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी एक सय १६ खेलाडी सहभागी थिए ।