• १३ साउन २०८१, आइतबार

ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका प्रशंसनीय : महत

blog

काठमाडौँ, वैशाख ७ गते । अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युत् उत्पादन क्षेत्रमा वैदेशिक लगानी सुरक्षित र उच्च प्रतिफलयुक्त रहने बताउनुभएको छ । विश्वमै हरित ऊर्जाको महत्व र आवश्यकता बढिरहेको भन्दै महतले नेपाली उत्पादकहरूले पनि लगानी प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

राजधानीमा आयोजित दुईदिने ऊर्जा सम्मेलनको एक सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

जलविद्युत् आयोजनामा लगानी तथा स्रोत परिचालन विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले भन्नुभयो, “९० को दशकभन्दा अगाडि एक/दुई सय मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्रको संलग्नता बढ्दै जाँदा राष्ट्रिय प्रसारणमा दुई हजार तीन सय मेगावाटभन्दा बढी विद्युत् थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो ।”

ऊर्जा क्षेत्रमा रहेको अपार सम्भावनाकै कारण निजी क्षेत्र जलविद्युत्मा आकर्षित भएको भन्दै उहाँले यस्तो लगानीबाट राज्य र जनतासम्मले लाभ पाउन सकेको बताउनुभयो ।  निजी क्षेत्रबाट भएको ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत् निर्यातसमेत गर्न थालेको छ । 

महतले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दै उनीहरूलाई सबै खाले आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको भन्दै मन्त्री महतले लगानीकर्ताले सामना गरेका समस्या समाधान गर्न सरकार तयार रहेको औँल्याउनुभयो । “हामी लगानीकर्तालाई थप सहजीकरण गर्न र इन्सेन्टिभ दिन तयार छौँ,” उहाँले भन्नुभयो, “विश्व बैङ्कजस्ता ठूला लगानीकर्तासमेत नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न इच्छुक रहेका छन्, अन्य निजी लगानीकर्ताले पनि चासो देखाइरहेका छन् । यो राम्रो कुरा हो, सरकारले यसलाई प्रवद्र्धन गर्दै जान्छ ।” 

विद्युत्को आन्तरिक खपत विस्तारमा पनि सरकार तथा निजी क्षेत्र सचेत हुनुपर्ने उहाँको भनाइ थियो । यातायात क्षेत्रको विद्युतीकरण, घरायसी प्रयोजनमा विद्युत् खपत प्रवद्र्धनलगायत अन्य क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने डा. महतको भनाइ थियो । राष्ट्रिय आवश्यकता पूर्तिपश्चात् बढी भएको सबै विद्युत् भारत निर्यात गर्न आवश्यक संयन्त्र बनाइने जानकारी दिँदै मन्त्री महतले विद्युत् निर्यातका लागि भारत मात्र नभएर बङ्गलादेश पनि दिगो बजार हुने उल्लेख गर्नुभयो ।