• १३ साउन २०८१, आइतबार

हस्तकला प्रवर्द्धनका लागि कोसेली घर

blog

काठमाडौँ, वैशाख ७ गते ।  ललितपुर महानगरभित्र उत्पादित हस्तकला सामग्रीको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला सङ्घसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटन ढोकासँगै रहेको उक्त घरको मङ्गलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ । 

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोसेली घरको सुरुवात गरेको बताउनुभयो । हस्तकलाकर्मी यो पेसाबाट पलायन हुन नदिनु यो घर खोल्नुको मुख्य उद्देश्य भएको बताउँदै उहाँले भन्नुभयो, “यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न मुलुकमा पु-याउन मद्दत गर्छ ।” ललितपुर आउने पर्यटकलाई कोसेली घरमा आउने वातावरण मिलाउन महानगरले काम गरिरहेको जानकारी दिनुभयो । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर विश्व कला नगरीको ३५औँ सहर बताएको बताउँदै भन्नुभयो, “हामीले धेरै पहिलादेखि यो घरको तयारी गरेका हौँ, कोभिडको महामारीले धकेलियौँ । यो घरले महानगरभित्रका उत्पादनलाई विदेश पु-याउन सहयोग गर्छ ।” कला नगरको एक महत्वपूर्ण तत्वमध्ये कोसेली घर एक भएको उहाँले प्रस्ट पार्नुभयो । ललितपुर महानगर विश्वको ३५औँ कला कला नगरी हो । 

उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले यल कोसेली घर सञ्चालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताउनुभयो । हस्तकलाकर्मीले यो पेसा छोडेर अन्य पेसा अँगालिरहेको अवस्थाप्रति इङ्गित गर्दै प्रत्येक घरलाई आत्मनिर्भर बनाउने हस्तकलाकर्मको संरक्षण गर्न महानगरले गरेको यो सुरुवात भएको उहाँले प्रस्ट पार्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । ललितपुर महानगरको समृद्धिमा यल कोसेली घरको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कोसेली घरले सीप र पुँजीलाई बजारसँग जोड्ने बताउनुभयो । उहाँले कोसेली घरको प्रचारप्रसारका लागि एयरलाइन्सको मुखपत्रमा सामग्री समावेश गर्ने विषयमा छलफल भएको बताउनुभयो । यसैगरी पर्यटकलाई कोसेली घरमा ल्याउनका लागि यात्रा विवरणमा यस घरको भ्रमण गर्ने व्यवस्था मिलाउन सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।

ललितपुर महानगर–२६ का वडाध्यक्ष एवं हस्तकला प्रवद्र्धन समितिका सदस्य सुरेश महर्जनले कला नगरीको पहिचान संरक्षण गर्न कोसेली घरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । हस्तकला सङ्घका अध्यक्ष प्रचण्ड शाक्य, ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहलगायतले कोसेली घरले हस्तकलाको संरक्षण सँगसँगै हस्तकलाकर्मीलाई यो पेसामा लाग्न प्रोत्साहित गर्ने प्रस्ट पार्नुभयो ।