• १३ साउन २०८१, आइतबार

‘उर्वशी सूक्त’ मञ्चन तयारी

blog

सन्तोष सुवेदी

कास्की, वैशाख १ गते । नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षका अवसरमा वैशाख १ देखि ११ गतेसम्म मञ्चन हुनेछ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा सोमबारबाहेक दैनिक साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गर्नुभएको हो। 

शनिबार अतिरिक्त मञ्चन दिउँसो १ बजे पनि हुनेछ। विद्यार्थीलाई लक्षित गरेर सोमबार भने दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाउनुभयो। नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक दर्शकका लागि नयाँ स्वाद हुने उहाँको दाबी छ। नाटकमा दिलप्रसाद गुरुङ, रोशन तिमिल्सिना, सुशील बराल, रोशन पोखरेल, रमेशबाबु तिमल्सिना, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुशा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतीक घिमिरेको अभिनय रहेको छ।

मिलन गिरी, देवेन्द्र ढकाल ‘विवेक’, खेम लामाको प्रत्यक्ष सङ्गीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङल्हामु शेर्पाले मेहनत गर्नुहुनेछ। नाटकमा शास्त्रीय सङ्गीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्द प्रयोग गरिएको छ। वेशभूषामा समेत सांस्कृतिक र शास्त्रीयताको सम्मिश्रण गरेर देखाउने खोजिएको निर्देशक सङ्कल्पले जनाउनुभयो। यो नाटकबाट पूर्वीय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उहाँले खुलाउनुभयो। झन्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधारणले पाँच सय र तीन सय रुपियाँको टिकट काट्नुपर्नेछ। विद्यार्थीले भने दुई सय रुपियाँको टिकट काट्न सक्नेछन्।