• १३ साउन २०८१, आइतबार

कोहलपुरमा दश तले भ्यूटावरको निर्माण

blog

कोहलपुरमा निर्माण गरिएको अत्यधुनिक भ्यूटावर । तस्विर: सिराज खान

सिराज खान 

नेपालगञ्ज, चैत ३० गते । पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ ।  

कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा गरिएको निर्माण कम्पनी एशोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालन अर्जुन पनेरुले बताउनुभयो । 

उहाँले दुई साताभित्र सर्वसाधारणका लागि खोलिने तयारी भइरहेको जनाउँदै सहरवासीलाई समयको जानकारी गराउने उद्देश्यले ठूलो घडी राखिने कार्य मात्र बाँकी रहेको बताउनुभयो । 

समग्र पश्चिम नेपाल मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गर्ने गरी नगरपालिकाको गौरवको योजनामा पारेर सो अत्याधुनिक भ्यूटावरको निर्माण गरिएको नगरपालिकाले जनाएको छ । सो टावरमा लिफ्टबाट माथि जान सकिने र त्यहाँबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने छ । 

पाँच करोड ८८ लाखको लागतमा निर्माण गरिएको सो अत्याधुनिक भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले बताउनुभयो । उहाँले यो टावर सञ्चालनमा आएपछि यसलाई हेर्न दैनिक सयौँ स्वदेशी र भारतीय नागरिकहरू आउने बताउनुभयो । 

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नहुने गरी भ्यूटावर निर्माण गरिएको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखाले जनाएको छ । 

भ्यूटावरको माथि पुग्न एक पटक १५ जना जानसक्ने क्षमताको लिफ्ट जडान गरिएको छ भने भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता रहेको छ । 

कोरोना महामारीका कारण निर्धारित समयमा टावरको निर्माण कार्य पूरा नहुँदा निर्माण कम्पनीले म्याद थप गराएको थियो ।