काठमाडौँ, मङ्सिर २ गते । नारी स्रष्टा समाज, नेपालले आइतबार आठौँ वार्षिकोत्सव मनाएको छ । अनामनगरमा मनाएको वार्षिकोत्समा २५ भन्दा बढी स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । देशभरका स्रष्टालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक सम्मान २०८१’ धरानका शुक्रराज कुँवरको लघुकथा संग्रह ‘बगैंचा’लाई प्रदान गरिएको छ । पुस्तक छनोटकर्ता रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई सम्मान गरेको छ।
विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभलाई पारस काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानलाई कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेललाई भीमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहाललाई कालीगंगा बालस्रष्टा सम्मान गरिएको छ ।

पुरस्कारका संस्थापक विक्रमभक्त जोशी, सुष्मा काफ्ले, रोशन पराजुलीलगायतलाई सम्मान गरिएको छ । ‘मोहनलता स्रष्टा सम्मान’ ध्रुवराज थापा ‘पुरुष’, लिलानाथ सिलवाल, डम्बरुवल्लभ भण्डारी र धन्वन्तरी मिश्र ‘कात्यायन’लाई प्रदान गरिएको छ ।
यसैगरी, नारी स्रष्टा सम्मान दीपा चौधरी (कैलाली), शारदा घिमिरे भैल (बनेपा), सुधा मैनाली (काठमाडौँ), राधा सुवेदी (सुनसरी), सत्या अधिकारी (ललितपुर), निशिता जोशी (ललितपुर) र सेसेमी लिम्बू (काठमाडौँ)लाई प्रदान गरिएको छ ।

नारी स्रष्टा समाज, नेपालको अध्यक्ष ममता मृदुलको सभापतित्वमा भएको कार्यक्रममा विवश पोखरेल र सावित्री कक्षपतिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दीपक लोहनी, विनोद नेपाल, ललिता दोषी, राधेश्याम लेकाली, गोकुल अधिकारी, दिव्य गिरी, शान्ति भण्डारी दाहाललगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।