• १३ साउन २०८१, आइतबार

जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार

blog

मानव बेचबिखन हुने नाकाहरू मध्ये एक प्रमुख नाका, जमुनाहा नाका । तस्बिर सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत ३० गते । खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्‍याउने कार्य निरन्तर जारी छ । 

मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले निगरानी बढाएर कडाइ गरे पनि विभिन्न तरिकाले महिला र बालबालिकालाई नाका पार गराउने कार्य रोकिएको छैन । 

मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैर सरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा ५०७ जना महिला र बालबालिकाको उद्धार गरेको जनाएको छ ।

माइती नेपालको नेपालगञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत एक वर्षको अवधिमा जोखिमपूर्ण अवस्थामा नाका पार गर्न लागेका ५०७ जना महिला र बालबालिकालाई जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरिएको जनाइएको छ । 

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५०७ जनाको उद्धार गरेर घर पठाइएको बताउनुभयो । 

उहाँले सो अवधिमा भारत तथा खाडी मुलुक समेतबाट बेचबिखनमा परेका १० जना महिलालाई ती मुलुकमै पुगेर उद्धार गरेर ल्याइएको जनाउनुभयो । सो अवधिमा विभिन्न जिल्लाबाट हराएका ७१२ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलास गर्दा २४६ जना फेला परेको संयोजक कोइरालाले बताउनुभयो । 

अझै पनि ४६६ जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको उहाँले बताउनुभयो । 

बेचबिखनमा सक्रिय दलालहरूले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकाले पनि नियन्त्रणमा समस्या हुने गरेको मानव बेचबिखन नियन्त्रणमा सक्रिय अर्को संस्था शक्ति समूहले जनाएको छ । 

समूहले नाकामा कडा निगरानी गर्नुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको समूहकी अध्यक्ष चरिमाया तामाङले बताउनुभयो । 

समूहले नाकामा सात वटा सिसी टिभी क्यामेरा पनि जडान गरेको जनाउँदै बेचबिखन रोक्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

मानव बेचबिखन रोक्न समय समयमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूसँग छलफल तथा संवाद कार्यक्रम पनि गर्ने गरिएको माइती नेपालले जनाएको छ ।