अर्जुन काफ्ले
स्याङ्जा, चैत २९ गते । अर्जुनचौपारी गाउँपालिकाले पहिलो पटक पालिका भित्रका सबै विद्यालयको कक्षा ३, ५ र ८ को लिखित परीक्षा लिएकोमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
पालिकाले सार्वजनिक गरेको तीन वटा कक्षाको अन्तिम परीक्षाको नतिजामा १६.५३ प्रतिशत उत्तीर्ण योग्य छन् । पालिकाले नौ वटा विद्यालयका कक्षा ८ को अन्तिम परीक्षामा सहभागी १८७ जना विद्यार्थी मध्ये २४ जना अर्थात् १२.८३ प्रतिशत विद्यार्थीहरू मात्र परीक्षा उत्तीर्ण योग्य देखिएका हुन् । कक्षा ८ मा तीन वटा विद्यालयको नतिजा शून्य रहेको छ भने राम्रो देखिएको पञ्च कन्या माविका २१ प्रतिशत विद्यार्थी उत्तीर्ण योग्य छन् ।
यस्तै, कक्षा ५ मा १८ वटा विद्यालयका १४६ विद्यार्थीले परीक्षा दिएकोमा २१ जना अर्थात् १४.३८ प्रतिशत उत्तीर्ण योग्य देखिएका हुन् । यहाँका आठ वटा विद्यालयका कुनै पनि विद्यार्थीले उत्तीर्ण अङ्क ल्याउन नसके र गणेश आधारभूत विद्यालयका ८० प्रतिशत उत्तीर्ण योग्य देखिएका छन् ।
यस्तै, कक्षा ३ का २६ वटा विद्यालयका १६३ विद्यार्थीले परीक्षा दिएकोमा ३७ जना अर्थात् २२.६९ प्रतिशत उत्तीर्ण योग्य रहेका छन् । १० वटा विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण योग्य नरहँदा गणेश आवि र जनप्रिय आवि शत प्रतिशत उत्तीर्ण योग्य रहेका छन् ।
पालिकाको शैक्षिक अवस्था खस्कँदो देखेपछि पालिकाले शैक्षिक सुधार नीतिअनुसार परीक्षा लिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बस्नेतले बताउनुभयो । उहाँले पालिकाले आफूले लिएको लिखितको नतिजा निकाले पनि आधा अङ्क प्रयोगात्मक र विद्यालयको मूल्याङ्कन पश्चात् अन्तिम नजिता प्रकाशन हुने बताउनुभयो ।
पालिकाको शैक्षिक अवस्थाको बारेमा बुझ्न खोज्दा शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले यो परीक्षामा आफ्नो दोष नरहेको दाबी गर्नुभयो ।