जनार्जन खत्री
सर्लाही, मङ्सिर २९ गते । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०÷६० बिघाकै उखु जलेको बताउनु भयो । करिब दुई हजार जति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिब पाँच घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।
प्रमुख यादवले आगलागीबाट करिब तीन करोड रुपियाँको उखु जलेको गोरखापत्रसँग बताउनुभयो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको प्रमुख यादवको भनाइ छ ।
आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक÷डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको प्रमुख यादवले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताउनुभयो ।
सोमबार इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ ।