नेपालको विकासका लागि पर्यापर्यटन प्रमुख आधार बन्न सक्छ । पर्यापर्यटन विकासका लागि ट्रेकिङ मार्गको अहम् भूमिका रहन्छ । पछिल्लो समय विकासको नाममा स्थापित ट्रेकिङ मार्गमा समेत गाडी सञ्चालन गर्ने क्रम बढ्दा पर्यटकको बसाइ तथा घुमाइमा प्रभाव परेको छ । जसको कारण पर्यटकीय गन्तव्यको मूल्य घट्दै गइरहेको छ । पर्यापर्यटकीय गन्तव्यको विकास तथा ग्रामीण बस्तीमा समेत विकासको सम्भावनालाई दिगोपना दिलाउने आधार भनेको पर्यापर्यटकीय उपज हुन् । जसमा होमस्टे, ट्रेकिङ, हाइकिङ, धार्मिक, सांस्कृतिक, साहसिक पर्यटन तथा पर्यापर्यटन मुख्य उपकरण हुन् । यस्ता स्थानमा कङ्क्रिटयुक्त विकास अवलम्बन गर्नुभन्दा वातावरणमैत्री वार्किङ ट्रेलको सुदृढीकरण गर्न सकियो भने पर्यटकीय आकर्षण बढ्न जान्छ र पर्यटकको बसाइ पनि लम्ब्याउन सकिन्छ ।
नेपाल र भुटान दुवै भूपरिवेष्टित र पर्वतीय मुलुक हुन् । दुवै देश प्राकृतिक सौन्दर्य, धार्मिक, सांस्कृतिक सम्पदा र पर्वतीय बस्तीहरूको जीवनशैलीमा आधारित तथा पर्यापर्यटनका सम्भावनाले भरिपूर्ण देश हुन् । भुटानले पछिल्ला वर्षमा अपनाएको पर्यापर्यटन मोडेल, सांस्कृतिक संरक्षणका नीति, धार्मिक स्थल व्यवस्थापन, पर्यटक सङ्ख्या नियमन र वातावरणीय प्रतिबद्धताले भुटानलाई विश्वकै उत्कृष्ट दिगो पर्यटन गन्तव्यको रूपमा चित्रण गरिदिएको छ । नेपालले पनि पर्यटनलाई विकासको आधार बनाउन खोजिरहेको छ तर व्यवस्थापन, अनुशासन, पूर्वाधार र नीति कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गर्न नसक्दा अपेक्षित सुधार हासिल हुन सकेको छैन । भुटानका नीति, कार्यक्रम र व्यवहार नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण सिकाइका स्रोत हुन सक्छन् । भुटानको उच्च मूल्य न्यून भोल्युम पर्यटन नीति, सांस्कृतिक पहिचान जोगाउने दृढता, धार्मिक स्थल संरक्षणमा अपनाइएको अनुशासन, गुम्बा तथा ऐतिहासिक स्थलको सफाइ र सुरक्षा, तथा विश्वप्रसिद्ध टाइगर नेस्टको उच्चस्तरीय व्यवस्थापन नेपालका लागि अनुकरणीय हुन सक्छ ।
पछिल्लो समय इसिमोडद्वारा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठीमा हिन्द कुश हिमालय क्षेत्रका सदस्य राष्ट्रका विभिन्न प्रतिनिधिको सहभागिता रहेको थियो । उपस्थित सबै सहभागी भुटानको भौगोलिक, पर्यावरणीय, सांस्कृतिक तथा आदर सत्कार तथा व्यवहारबाट निकै प्रभावित देखिन्थे । दुई दिने कार्यशाला गोष्ठीका क्रममा प्रसिद्ध टाइगर नेस्ट भ्रमण गर्ने अवसर जु¥यो । बस यात्रापछि करिब दुई घण्टा पैदल दुरीमा पुगिने उक्त स्थान भ्रमण गर्ने स्वदेशी तथा विदेशीहरूको ओइरो नै देखिन्छ । भ्रमण टोलीमा भुटान, नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तानलगायतका नागरिक सहभागी थिए । जाँदा आउँदा करिब पाँच घण्टाको पैदल यात्रा गरी टाइगर नेस्ट भ्रमण अवधिमा औधी रमाइलो रह्यो । सबैलाई आश्चर्य लाग्ने विषय त त्यति लामो अनि धेरै मानिस ओहोरदोहोर गर्ने बाटोमा कहीँ कतै कुनै खालको फोहोर देखिँदैन ।
यो भ्रमणसँगै अन्नपूर्ण पदमार्गको यात्राको अनुभव साट्न मन लाग्यो । डेढ दशक अगाडि लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको यात्रा दुई पटकसम्म दुई दिन लगाएर गरिएको थियो । त्यो बेला उक्त पदमार्गमा पैदलयात्री र मालसामान बोक्ने खच्चडले बाटो खचाखच हुन्थ्यो । नेपाली भन्दा विदेशी पर्यटक बढी हुने गर्थे । ठाउँ ठाउँमा स्तरीय होटेल थिए । बेँसी सहरदेखि नै होटल बुक गरेर पर्यटक यात्रा गरिरहेका हुन्थे । पर्यटकको चापको कारण नेपालीले बास पाउन पनि हम्मे हम्मे थियो । त्यो खालको आकर्षण पछिल्लो समयमा मनाङसम्म नै गाडी पुगेपछि ह्वात्तै घटेर गएको छ । भुटानमा टाइगर नेस्ट पदमार्गले पर्यापर्यटनमा पदमार्गको कति महत्वपूर्ण हुन्छ भन्ने स्मरण गरायो । भुटानले चाहेमा टाइगर नेस्टसम्म सहजै गाडी पु¥याउन सक्छ या केबुलकार पु¥याउन सक्छ तर पर्यटकीय महत्व घट्न सक्छ । एक दिन नै किन नहोस् टाइगर नेस्ट पुगेर आउँदा पर्यटक बढी बस्नुपर्ने हुन्छ । अनि विदेशीका लागि प्रति दिन एक सय डलर दिगो विकास शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै अन्य स्थानमा पनि भुटानले पर्यापर्यटन प्रवर्धनका उपकरण लागु गरेको छ ।
भुटानले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक पर्यटनमा टेवा दिएको छ । होटल, बाटो तथा अन्य भौतिक पूर्वाधार, अतिथि सत्कार सबै हिसाबले हर क्षेत्र पर्यटनमैत्री बनाएको छ । होटल होस् वा हवाई यात्रा होस् वा गाडी यात्रा किन नहोस् सबै क्षेत्रमा मधुर, मिजासिलो र सरल व्यवहार गरेका हुन्छन् भुटानी । पर्यटकलाई भुटानको हर क्षेत्रको जानकारी स्वस्फूर्त रूपमा दिलाइरहेका देखिन्छन् । पारो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाँ ओर्लेपछि टाइगर नेस्ट पुग्ने सबैको रहर जाग्छ र सकेसम्म साकार पनि बन्छ, जसले पारो र आसपसका क्षेत्रको पर्यटन प्रवर्धनमा सघाइरहेको छ ।
टाइगर नेस्ट जस्ता विशेषता बोकेका धार्मिक सांस्कृतिक सम्पदा नेपालमा दर्जनौँ छन् तर जुन हिसाबले हामीले मूल्य सिर्जना गर्न सक्नुपथ्र्यो त्यसो गर्न सकिरहेका छैनौँ । हरेक व्यक्तिमा सकारात्मक सोच र सद्भाव हुनाले पर्यटकमा भुटानप्रति सकारात्मक भाव सिर्जना गरेको देखिन्छ । भुटानले पर्यटक सङ्ख्या सीमित राखेर मूल्यवृद्धि गर्ने मोडेल अपनाएको छ, जसका कारण वातावरण र संस्कृति सुरक्षित रहने मात्र होइन, पर्यटनबाट प्राप्त आम्दानी पनि गुणात्मक रूपमा बढ्छ । नेपालमा भने जति धेरै पर्यटक त्यति राम्रो भन्ने दृष्टिकोण देखिन्छ । प्रसिद्ध अन्नपूर्ण र सगरमाथा क्षेत्रका पदमार्गसमेत उच्च पर्यटक चापका कारण त्यति व्यवस्थित बन्न सकिरहेका छैनन् । भोटेकोशी, मनाङ, मुस्ताङ, नाम्चे, गोसाइँकुण्ड, रारा, जनकपुर, लुम्बिनी, स्वर्गद्वारी, पाथिभरा, मनकामना, खप्तड जस्ता पर्यटकीय गन्तव्यको मूल्य अभिवृद्धि गरिनु पर्छ । भुटानमा राष्ट्रिय पहिरन, परम्परागत घरवास्तुकला, भाषा, धार्मिक विधि, चाडपर्व र सामाजिक अनुशासनलाई पर्यटक आकर्षणका रूपमा जोगाइएको छ । हरेक पर्यटकलाई स्थानीय संस्कृति, आचरण र नियमबारे स्पष्ट जानकारी दिइन्छ । नेपालमा पशुपतिनाथ, बौद्ध, स्वयम्भू, मुक्तिनाथ तथा अन्य धार्मिक सांस्कृतिक स्थलमा भिडभाड अति नै देखिन्छ भने पर्यटन गाइड तथा सूचना प्रवाह संस्कृति पनि सबल छैन ।
नेपालका विभिन्न धार्मिक स्थलको धार्मिक पवित्रता जोगाउन र पर्यटकलाई आनन्द तथा सुरक्षाको प्रत्याभूति दिलाउनु आवश्यक छ । कठिन पदमार्ग हुँदाहुँदै पनि टाइगर नेस्ट स्वच्छ, सुरक्षित, अनुशासित र नियन्त्रित गन्तव्यमा पर्छ । नेपालमा यस्ता सम्भावना बोकेका सयौँ क्षेत्र तथा स्थान छन् । खाँचो केवल सम्भावनालाई मूर्तता दिने गरी ठोस कार्यक्रम तथा बजेट तय नहुनु र तय भइहाले पनि प्रभावकारी कार्यान्वयन नहुनु हो । नेपालले पनि भुटानले जस्तै पदमार्ग सुधार, विश्रामस्थल विस्तार, अनिवार्य गाइड व्यवस्था, पानी तथा फोहोर निकास प्रणाली, जोखिम क्षेत्रको जानकारी बोर्ड अभियान कार्यान्वयनमा ल्याउन सक्छ ।
भुटानले संस्कृति, वातावरण, अनुशासन र पर्यटन व्यवस्थापनलाई आधुनिक तर दिगो मोडेलमा रूपान्तरण गरे जस्तै नेपालले पनि भौगोलिक, सांस्कृतिक र जैविक विविधता व्यवस्थापन, अनुशासन, पूर्वाधार विकास, सरसफाइ, व्यवहार तथा सद्भावमा जोड दिनु आवश्यक छ । नेपाल जस्तो भौगोलिक विविधतायुक्त अनि प्राकृतिक मुलुकका लागि पर्यापर्यटन विकासको सबल आधार बन्न सक्छ ।