• २९ मङ्सिर २०८२, सोमबार

पुराना नेताको चुनाव नलड्ने स्वघोषणा

blog

  • युवाले अवसर नपाउने भएकाले आफूले चुनाव नलड्ने घोषणा गरेको हुँ ।

– राजन केसी नेता, नेपाली कांग्रेस

  • अरू नेतालाई पनि अवसर दिन्छु भनेरै चुनाव लड्दिनँ भनेर घोषणा गर्र्नु राम्रो पक्ष हो । 

– राजेन्द्र गौतम एमाले, पार्टी प्रचार विभाग प्रमुख 

  • मन्त्री र सांसद भएका व्यक्ति आगामी चुनाव नलडेर युवालाई अवसर दिनु पर्छ । 

– हरिबोल गजुरेल नेता, नेपाली कम्युनिस्ट पार्टी 

काठमाडौँ, मङ्सिर २९ गते । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ । 

तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पटक पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले चुनाव नलड्ने स्वघोषणा गर्नुभएको छ । कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । जेनजी आन्दोलनका बेला पाण्डे पर्यटन मन्त्रालय र अधिकारी कृषि मन्त्रालयको जिम्मेवारीमा रहनुभएको थियो । केसी पूर्वमन्त्री भए पनि जेनजी आन्दोलन हुँदा सांसदको मात्रै भूमिकामा रहनुभएको थियो ।

एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टी पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेको पार्टी नेता महेश बस्नेतले जानकारी दिनुभयो । उहाँहरूले पार्टीको प्रमुख जिम्मेवारी र आगामी निर्वाचन दुवै नलड्ने उल्लेख गरेको बस्नेतले बताउनुभयो । शाक्य २०५६ र २०७० मा भएको संविधान सभा चुनावमा निर्वाचित हुनुभएको थियो । यसअघि दुई पटक मन्त्री भइसक्नुभएकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित हुनुभएको थियो । त्यति बेला बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारीमा छोटो समय काम गर्ने अवसर पाउनुभएको थियो । उपाध्यक्ष ज्ञवाली २०५४ सालमा राष्ट्रिय सभा सदस्य र २०७० सालको निर्वाचनमा समानुपातिक सांसद हुनुका साथै एक पटक मात्रै मन्त्री हुनुभएको थियो ।

यस्तै पार्टी केन्द्रीय सदस्य भूपेन्द्र थापा र पार्टी पोलिटब्युरो सदस्य दलबहादुर रानाले चुनाव नलड्ने घोषणा गरिसक्नुभएको छ । थापा एमाले केन्द्रीय सदस्य हुनुका साथै २०७४ सालको निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो । राना पूर्वमन्त्री हुनुका साथै पाल्पाबाट २०५१, २०७० र २०७४ सालमा निर्वाचन जित्नुभएको थियो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीमा अरू नेतालाई पनि अवसर दिन्छु भनेरै चुनाव लड्दिनँ भनेर घोषणा गर्र्नु राम्रो पक्ष भएको प्रतिक्रिया दिनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले एउटै व्यक्ति लामो समय प्रधानमन्त्री, मन्त्री र सांसद हुन नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले माओवादीको अन्तिम सचिवालय बैठकमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री, मन्त्री र सांसद हुने अवस्थाको अन्त्य हुनु पर्छ भनेर लिखित मान्यता दर्ता गराएको छु । नेकपामा पनि प्रधानमन्त्री, मन्त्री र सांसद भएको व्यक्ति आगामी चुनाव लड्न हुँदैन भन्दै आएको छु ।” जेनजी आन्दोलनको भावनाबमोजिम मन्त्री र सांसद भएका व्यक्ति आगामी चुनाव नलडेर युवालाई अवसर दिनुपर्ने उहाँको धारणा छ । 

कांग्रेस नेता बद्री पाण्डेले एउटा क्षेत्रमा एउटै नेता सधैँ चुनाव लडिरहन्छ भन्ने भाष्य तोड्न पनि आफूले चुनाव नलड्ने घोषणा गरेको बताउनुभयो । जेनजी आन्दोलनको भावना पनि एउटै नेता मन्त्री र सांसद हुन ठिक नभएको उहाँले बताउनुभयो । पाण्डे २०७० सालमा समानुपातिक सांसद त्यसपछि राष्ट्रिय सभा सदस्य भएपछि २०७९ सालको निर्वाचनमा बाजुराबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । “निर्वाचनमा उम्मेदवारी पार्टीले दिने हो । व्यक्ति अदलबदल भइरहन्छ । एक व्यक्ति एक पटक सांसद भए अर्को पटक अर्कोले मौका पाउँछ भन्ने मान्यता स्थापित गर्न खोजेको हो,” उहाँले भन्नुभयो । आफूले चुनाव नलड्ने घोषणा ठुलो क्रान्तिकारी सन्देश नभए पनि राजनीतिमा थोरै भए पनि सकारात्मक सन्देश प्रवाह हुने विश्वास पाण्डेको छ ।   

चुनाव नलड्ने घोषणा गर्नुभएका राजन केसीले एउटै व्यक्ति निरन्तर सांसद र मन्त्री हुँदा नेतृत्वको विकासक्रम रोकिनुका साथै युवाले अवसर नपाउने भएकाले आफूले चुनाव नलड्ने घोषणा गरेको तर्क गर्नुभयो । केसीले काठमाडौँ क्षेत्र नम्बर १० बाट २०७०, २०७४, २०७९ मा निरन्तर चुनाव जित्दै आउनुभएको छ । तीन पटक सांसद र एक पटक मात्रै मन्त्री हुनुभएका केसीले कांग्रेसका लागि क्षेत्र सुरक्षित भएकाले अर्को युवा नेता चुनाव लड्नुपर्ने बताउनुभयो ।  “मैले २०७९ सालको चुनाव जितेलगत्तै साथीहरूसँग अब चुनाव नलड्ने घोषणा गरेको थिएँ । एउटै व्यक्ति एउटै पदमा बस्दा र चुनाव लड्दा युवा पुस्ताको क्षमता ह्रास हुन्छ । पार्टी नेता कार्यकर्ता अवसरबाट वञ्चित हुन्छन् । पार्टी कमजोर हुन्छ,” उहाँको भनाइ छ ।

यस्तै कांग्रेसका नेता एवं पूर्वमन्त्री रामनाथ अधिकारीले जेनजी आन्दोलनको भावनालाई आत्मसात गर्दै अब चुनाव नलड्ने बताउनुभयो । “धादिङबाट २०५६, २०६४, २०७०, २०७९ चार पटक चुनाव लडेँ, दुई पटक जितेँ, एक पटक मन्त्री भएँ । म जस्तै पार्टीमा लागेर हिँड्ने साथीहरूले अवसर पाउनु पर्छ भन्ने हो,” उहाँको भनाइ छ । 

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।