• १३ साउन २०८१, आइतबार

चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको भ्रमण

blog

प्राचीन कपिलबस्तु तिलौराकोटको भ्रमण गर्नु हुँदै चिनियाँ राजदुत । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, चैत २८ गते । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्धस्थल तिलौराकोट भ्रमण गर्नुभएको हो ।

राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत्त्व, ऐतिहासिक प्रमाणलगायतका विषयमा जानकारी गराएका थिए । तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुँदै उहाँले तिलौराकोटमा सम्पन्न उत्खननको स्थलगत निरीक्षण गर्नुभयो । उहाँले उत्खननका उपलब्धि र अवस्थाबारे जानकारी लिनुभएको थियो । 

राजदूतले तिलौराकोटको मुख्य दरबार, समयमाई मन्दिर, पश्चिमी र पूर्वीद्वार, सम्पन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भ्रमणको क्रममा तिलौराकोट दरबार अत्यन्तै सुन्दर ढङ्गले संरक्षण गरिनुका साथै यस स्थलमा चिनियाँ तीर्थ यात्रीलगायत सम्पूर्ण विश्वभरका आगन्तुकहरूले विश्व शान्ति समृद्धिका लागि पूजा र प्रार्थना गर्न यस स्थलको निरन्तर भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आफू यस पवित्र स्थलमा भ्रमण गर्दा अत्यन्तै गौरवान्वित भएको र आगामी दिनमा यस स्थलको पुनः भ्रमण गर्ने विचार व्यक्त गर्नुभयो ।  

तिलौराकोट क्षेत्रको संरक्षण र विकासका लागि चीन सरकारले नेपाल सरकारसँग हातेमालो गरी कार्यहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तिलौराकोटलाई छिटो भन्दा छिटो विश्व सम्पदा सूचीमा सूचिकृत गराउन युनेस्कोसँग समन्वय गर्ने राजदूत सोङले बताउनुभयो ।