• ११ असार २०८१, मङ्गलबार

सवारी चालक लाइसेन्स

७० अङ्कभारको व्यवस्थापछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशत वृद्धि

blog

काठमाडौँ, चैत्र २६ गते । बागमती प्रदेशमा ७० अङ्कभारको नियम लागू भएसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा उत्तीर्ण हुनेको सङ्ख्या बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी देवराज चौलागाँइका अनुसार ७० अङ्कभारको  व्यवस्था गरेपछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशतले बढेको छ । 

पहिले ३० देखि ३५ प्रतिशत मात्र उत्तीर्ण हुने गरेकोमा यो नियम लागू भएपछि ५० देखि ५५ प्रतिशत उत्तीर्ण भएको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “नियम जारी नहुँदासम्म उत्तीर्ण हुनेको प्रतिशत ३० देखि ३५ प्रतिशत थियो । तर, यो व्यवस्था लागू भएदेखि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशत बढेर ५० देखि ५५ प्रतिशत पुगेको छ ।” 

गत फागुन २ गतेदेखि बागमती प्रदेशमा ७० प्रतिशत अङ्कभारको व्यवस्था लागू गरिएको हो । यसअघि पाँच प्रदेशमा ७० प्रतिशत अङ्कभार लागू भए पनि बागमती प्रदेश र कर्णाली प्रदेशमा लागू भएको थिएन । 

यो अङ्कभार लागू गरेपछि फारम भर्नेको सङ्ख्या पनि बढ्ने देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ नियम लागू भएपछि लाइसेन्सका लागि फारम भर्नेको सङ्ख्या बढ्ने देखिन्छ । धेरै सेवाग्राहीले फारम भर्नका लागि सोधपुछ गरिरहेका छन् ।” तर, अहिले दैनिक निश्चित कोटा निर्धारण गरेर मात्र फारम खुलाउने गरिएकाले निश्चित सेवाग्राही मात्र लिन सकिएको चौँलागाइले बताउनुभयो । 

लाइसेन्सका लागि दिनुपर्ने ट्रायल (प्रयोगात्मक परीक्षा)मा सानो त्रुटिले पनि पास नहुने समस्याको अन्त्यका लागि २०७७ सालमै सङ्घीय सरकारले कार्यविधि ल्याएको थियो । तर अन्य प्रदेशमा लागू भए पनि बागमती र कर्णाली प्रदेशमा सो नियम लागू हुन सकेको थिएन । 

तर, दबाबपछि फागुन १ गतेदेखि यो नियम लागू भएको हो । यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमति पत्र वितरण कार्यविधि, २०७७’ जारी गरेको थियो । यस कार्यविधिलाई अङ्कमा आधारित कार्यविधि पनि भन्ने गरिएको छ ।

यस कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलका ७० प्रतिशत अङ्क ल्याए पुग्छ । तर उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । 

के छ नयाँ व्यवस्थामा ?

विभागले जारी गरेको नयाँ निर्देशिका अनुसार केही ठाउँमा बाहेक अन्य ठाउँका सामान्य त्रुटि गरे सामान्य अङ्क मात्र काटिने व्यवस्था छ । उकालो ,ओरालोमा भने केही त्रुटि भइहाले सिधै फेल भइनेछ । 

घुमाउरो आठमा एक पटकसम्म भुईँमा टेकेमा वा एक पटक अङ्कित रेखामा छोएमा २० अङ्क कट्टा हुनेछ । घुमाउरो आठमा एक पटकभन्दा बढी रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा र ठिक दिशाबाट वा ठीक तरिकाबाट आठ नबनाएमा वा सवारीको स्टार्ट बन्द भएमा अङ्क नकाटी सिधै फेल भइनेछ । 

आठ कटाइसकेपछि साँघुरो फलेकमा प्रवेश पाइने छ । जहाँ अङ्क कट्टीको छुट छैन ।  यहाँ खुट्टाले टेकेमा, फलेकको लम्बाई पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल भइनेछ । फलेक कटाइसकेपछि यु टर्नमा पुगिनेछ । यसमा टर्निङ् इन्डिकेटर लाइट नबालेमा १० अङ्क काटिनेछ । यु टर्नको क्रममा अङ्कित रेखा छोएमा फेल भइनेछ । यु टर्न पार गरेपछि ट्राफिक सङ्केत भएको ठाउँमा पुगिनेछ । यहाँ ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क काटिनेछ ।त्यहाँ सिधै फेल भने भइनेछैन । 

त्यसपछि बम्प्स (उबड खाबड ) मा पुगिनेछ । यहाँ एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा वा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पाँच पाँच अङ्क काटिनेछ । तर पुनः खुट्टा टेकेमा वा स्टार्ट पुनः बन्द भएमा फेल भइनेछ ।  त्यसपछि उकालोमा पुगिनेछ । यसमा गल्ती गरे अङ्क कट्टा हुनेछैन । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र एक पटकभन्दा बढी सवारीको स्टार्ट बन्द भएमा फेल भइनेछ । 

अन्त्यमा परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनका लागि १० अङ्क छोट्ट्याइएको छ । जहाँ सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अङ्क, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अङ्क र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अङ्क काटिनेछ । समग्र १०० अङ्कमध्ये ७० अङ्क प्राप्त गरे उत्तीर्ण हुने प्रावधान छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।