• १३ साउन २०८१, आइतबार

‘किसानको हात, वडाको साथ’ कार्यक्रम सुरु

blog

बाँहुणडाँगीमा केही दिनअघि देखिएको हात्तीको बथान ।

विष्णुप्रसाद पोखरेल

दमक, चैत १८ गते । झापाको सबैभन्दा धेरै हात्ती प्रभावित क्षेत्रको रूपमा चिनिएको बाहुणडाँगीमा ‘किसानको हात, वडाको साथ’ कार्यक्रम सुरु गरिएको छ । यस कार्यक्रम अन्तर्गत किसानले लगाएको बाली बीमा र हात्तीले नखाने बाली लगाउने अभियान सुरु गरिएको जनाइएको छ ।

मेचीनगर नगरपालिकाको वडा नं. ४ मा यस्तो कार्यक्रम सुरु गरिएको हो । प्रारम्भिक चरणमा सामूहिक खेतीका लागि प्रोत्साहन गरिने र बिस्तारै सबै किसानहरूसम्म पुग्ने लक्ष्य रहेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ । यस वडाको प्रधान गाउँमा अहिले नमुनाको रूपमा अढाइ बिगाहा यस प्रकारले सामूहिक खेती सुरु गरिएको हो । 

स्थानीयले हात्ती मैत्री किसान समूह बनाएर सामूहिक खेती सुरु गरेपछि वडाले पनि यसका लागि बजेट दिने भएको छ । उक्त कृषि खेती गर्ने समूहलाई वडा कार्यालयले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने पनि वडाध्यक्ष कार्कीले बताउनुभएको छ । किसानहरू आफैँले प्रति किसान ५ हजार रुपियाँ उठाउनु भएको छ र हामी उहाँहरूलाई सहयोग गर्छौँ, उहाँले भन्नुभयो ।

हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यकाअनुसार आफूहरूले पहिलो चरणमा आलु खेती गरेको बताउनुभयो । अब हामी नगदेबाली लगाउँछौँ र त्यसमा पनि सकेसम्म हात्तीले क्षति नगर्ने बाली रोज्छौ, उहाँले भन्नुभयो । हात्तीले क्षति गरेका कारण धेरै नै सास्ती व्योहार्नु परेकाले अब बीमा गर्ने पनि आचार्यले जनाउनुभयो ।

कोदो, तोरी, रहरी दाल, अधुवा, बेसार, पिँडालुलगायतका उत्पादनहरू हात्तीले नखाने भएकाले यसको व्यावसायिक खेती गर्न आफूहरूले सम्भाव्यता अध्ययन गरिरहेको पनि आचार्यले बताउनुभयो । हामी जे लगाएर उत्पादन गर्छौँ त्यो विषादीरहित हुनेछ, उहाँले भन्नुभयो ।

हात्ती प्रभावित क्षेत्रका किसानहरूको बाली बीमा नगरपालिकाले नै गरिदिने भएपछि किसानहरू पनि खुसी छन् । नगरपालिका कार्यपालिकाको हालै बसेको बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा बीमा गरिदिने निर्णय गरेको बताइएको छ । बीमा गरेपछि क्षतिपूर्ति तथा किसानको लगानी डुब्ने चिन्ता हुँदैन, वडाध्यक्ष कार्कीले भन्नुभयो ।