• २३ फागुन २०८२, शनिबार

कास्की १ मा रास्वपाका पौडेल विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस)

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २३ गते ।
कास्की क्षेत्र नम्बर १ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी हुनुभएको छ । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हासिल गर्नुभएको हो ।

उहाँका निकटमन प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार दुई सय १४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीको भागमा १० हजार चार सय २९ मत परेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङले दुई हजार चार सय ७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाको भागमा नौ सय ७८ मत परेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठ सय ७८ मतदाता रहेकोमा ७० हजार एक सय ५० मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ४० मत बदर भएको थियो । विजयपछि पौडेलले सबैको साथले मात्र देश निर्माण हुने बताउनुभयो । “देश सबै मिलेर बनाउने हो, मलाई साथ दिने, आलोचना गर्ने सबैप्रति आभारी छु, आलोचनात्मक र रचनात्मक सुझाव, सल्लाहको अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

१७ जनाले उम्मेदवारी दर्ता दिएकोमा १६ राजनीतिक दलका र एक स्वतन्त्र छन् । रास्वपाका पौडेल लेखन हुँदै राजनीतिमा आउनुभएको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’ चलाउनुभएका उहाँ स्वतन्त्र उम्मेदवारी दिएर पोखरा महानगरको प्रमुखमा प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यही बेला काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)सँग सम्बन्ध भएपछि उहाँ शाहसँगै रास्वपा प्रवेश गरी उम्मेदवार बन्नुभएको हो ।

कास्की क्षेत्र नम्बर २ बाट रास्वपाका उत्तमप्रसाद पौडेल र क्षेत्र नम्बर ३ बाट रास्वपाकै बिना गुरुङ निर्वाचित भइसक्नुभएको छ ।