• २३ फागुन २०८२, शनिबार

मध्यपूर्व युद्धः तनाव तीव्र, आक्रमण र प्रतिआक्रमण जारी

blog

वासिङ्टन, फागुन २३ गते । अमेरिका-इजरायल र इरानबिच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबर आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ ।

शनिबार दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारले जनाएका छन् । इरानले खाडी क्षेत्रका लक्ष्यमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको एक हप्तापछि यी विस्फोट सुन्निएको हो । मानामामा चेतावनी साइरन बजाइएको थियो र बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

यसैबिच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपतकालीन’ स्वीकृति दिएको जनाएको छ । विदेश मन्त्रालयको राजनीतिक-सैन्य मामिला ब्युरोका अनुसार प्रस्तावित बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने, वर्तमान र भविष्यका खतरा सामना गर्न सहयोग गर्ने तथा क्षेत्रीय खतराविरुद्ध निवारकका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभरि हवाई आक्रमणको चेतावनी जारी गरेको जनाएको छ । इरानले आफ्नो सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हत्या र देशभरका लक्ष्यमा गरिएको अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको बताइएको छ ।

यसै क्रममा लेबनान-सिरिया सीमामा पनि तनाव चर्किएको छ । लेबनानी सरकारी मिडियाका अनुसार इजरायलले उक्त क्षेत्रमा अवतरण कारबाहीको प्रयास गर्दा झडप भएको थियो । तेहरान समर्थित हिजबुल्लाहले आफ्ना लडाकू त्यस झडपमा संलग्न रहेको जनाएको छ । खामेनीको हत्याको बदला भन्दै हिजबुल्लाहले सोमबार इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा थप सेना पठाएको थियो ।

खाडी क्षेत्रमा पनि आक्रमणको प्रयास जारी रहेको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले अमेरिकी सैन्य कर्मचारी बसोवास गर्ने एक हवाई अड्डातर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल अवरोध गरिएको जनाएको छ । राज्य समाचार एजेन्सीका अनुसार यसअघि पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरी लक्षित गरी गरिएको ड्रोन आक्रमणपछि इमिराती सीमासँगैको तेल क्षेत्रमा गरिएको अर्को ड्रोन आक्रमण पनि विफल पारिएको थियो ।

इरानको राजधानी तेहरानमा पनि शनिबार ठुलो विस्फोट भएको इरानी राज्य प्रसारण कर्ताले जनाएको छ । त्यसपछि इजरायली सेनाले तेहरानका लक्ष्यमा ‘व्यापक स्तरका आक्रमण’ सुरु गरिएको पुष्टि गरेको थियो । इजरायलका अनुसार इरानबाट नयाँ चरणको क्षेप्यास्त्र प्रहार भएपछि तेल अभिव क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट सुनिएका थिए । इजरायलले इरानमाथि युद्ध सुरु भएयता ‘धेरै पटक’ क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ । यी हतियार हावामा विस्फोट भएर साना बम छरिने भएकाले लामो समयसम्म नागरिकका लागि जोखिमपूर्ण हुने मानिन्छ । 

इरान र इजरायल दुवै क्लस्टर बमको प्रयोग र उत्पादन प्रतिबन्ध गर्ने अन्तर्राष्ट्रिय महासन्धिमा सहभागी छैनन् । यसैबिच अमेरिकाले रुसले इरानलाई खुफिया सहयोग दिएको भन्ने समाचारबारे टिप्पणी गरेको छ । वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै रुसले इरानलाई जहाज र विमानसहित अमेरिकी सैन्य सम्पत्तिको अवस्थाबारे जानकारी उपलब्ध गराएको जनाएको थियो । तर ह्वाइट हाउसले यस विषयलाई कम महत्त्व दिँदै पेन्टागन प्रमुख पीट हेगसेथले अमेरिकी कमान्डर अवस्थाबारे पूर्णरूपमा सचेत रहेको बताउनुभएको छ ।

इरानले भने आफ्नो नेतृत्व चयन प्रक्रियामा अमेरिकी हस्तक्षेप अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा आफू संलग्न हुनुपर्ने बताउनुभएको थियो । त्यसप्रति प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूत अमिर सइद इरवानीले इरानको नेतृत्व चयन संवैधानिक प्रक्रिया र जनताको इच्छा अनुसार हुने स्पष्ट पार्नुभयो ।

युद्ध चर्किदै जाँदा अमेरिकाले हतियार उत्पादन बढाउने घोषणा पनि गरेको छ । ट्रम्पका अनुसार प्रमुख अमेरिकी रक्षा कम्पनीले उन्नत हतियारको उत्पादन चार गुणासम्म बढाउन सहमति जनाएका छन् । अमेरिकी सेनाका अनुसार द्वन्द्व सुरु भएको पहिलो सातामै तीन हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिएको छ । युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ । खाडी क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुने आशङ्काले कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।

वेस्ट टेक्सास इन्टरमिडियेट कच्चा तेलको मूल्य शुक्रबार १२ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.९२ डलर पुगेको छ । यो साप्ताहिक रूपमा ठुलो वृद्धि मानिएको छ । इराकमा पनि तनाव बढेको छ । रकेटले बगदाद अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई लक्षित गरेका थिए, जहाँ सैन्य आधार र अमेरिकी कूटनीतिक सुविधा रहेका छन् । ‘सराया अवलिया अल-दम’ नामक छद्म समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ, जसलाई इरान समर्थित इस्लामिक प्रतिरोध समूहको हिस्सा मानिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कुवेतमा इरानी ड्रोन आक्रमणमा मारिएका छ जना अमेरिकी सैनिकको पार्थिव शरीर स्वदेश फर्किने क्रममा आफू उपस्थित हुने बताउनुभएको छ । उहाँका अनुसार दक्षिणी औद्योगिक केन्द्र पोर्ट शुआइबामा भएको आक्रमणमा ती सैनिक मारिएका थिए । दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाको आधार क्षेत्रमा भएको आक्रमणमा घानाका धेरै शान्ति सैनिक घाइते भएको पनि रिपोर्ट आएको छ । आक्रमण कसले गरेको भन्ने स्पष्ट नभए पनि त्यस क्षेत्रमा इजरायल र हिजबुल्लाहबिच लगातार लडाइँ भइरहेको छ ।

यसबिच ट्रम्पले युद्ध अन्त्यका लागि इरानले ‘बिना शर्त आत्मसमर्पण’ गर्नुपर्ने माग दोहोर्‍याउनुभएको छ । उहाँले इरानले यस्तो कदम चालेमा देशको अर्थतन्त्र पुनर्निर्माणमा सहयोग गर्ने वाचा पनि गर्नुभएको छ  यो प्रस्ताव अमेरिकाले यसअघि बताएको सैन्य उद्देश्यभन्दा अझ व्यापक भएको विश्लेषण गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने मध्यपूर्वमा भइरहेको ‘गैरकानुनी आक्रमण’ को निन्दा गर्दै युद्ध नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएको छ । 

उहाँका अनुसार जारी सङ्कटले ठुलो मानवीय पीडा निम्त्याइरहेको छ र विश्व अर्थतन्त्रका लागि गम्भीर जोखिम सिर्जना गरिरहेको छ । युद्धको प्रभाव प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजमा पनि देखिएको छ । एएफपीले विश्लेषण गरेको मरिन ट्राफिक डाटाअनुसार सोमबारदेखि केवल नौ तेल ट्याङ्कर, कार्गो र कन्टेनर जहाज मात्र उक्त जलमार्ग हुँदै गुज्रिएका छन् । सामान्य अवस्थामा विश्वको कच्चा तेलको करिब २० प्रतिशत र तरलीकृत प्राकृतिक ग्यासको करिब २० प्रतिशत यही मार्गबाट ओसारपसार हुने गर्दछ ।

यता फ्रान्सले पनि भूमध्यसागर क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । फ्रान्सेली सेनाका अनुसार हेलिकाेप्टर बोक्ने जहाज त्यहाँ तैनाथ गरिएको छ । पेरिसले यसअघि नै आफ्नो मुख्य एयरक्राफ्ट क्यारियर र फ्रिगेट पनि क्षेत्रतर्फ पठाउने निर्णय गरेको जनाएको छ । रासस/एएफपी