अर्जुन काफ्ले
स्याङ्जा, फागुन २३ गते । भूवैज्ञानिक र हिमनदी विज्ञ पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मीले संसद्को यात्रा तय गर्नुभएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. रेग्मी विजयी हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा. रेग्मीका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ढकालले १८ हजार ८५७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेकामा सबैलाई पछाडि पार्दै डा. रेग्मीले जित दर्ता गर्नुभएको हो ।
डा. रेग्मीले सन् २००६ मा जापानको सापोरोस्थित होक्काइडो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओसाइन्स एन्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डको पूर्व कार्यकारी प्रमुख (सिइओ) समेत रहनुभएका डा. रेग्मी अहिले तालबाट जलविद्युत् उत्पादन गरेर पानीको सतह घटाउने नयाँ प्रविधिमा क्रियाशील हुनुहुन्छ ।
डा. रेग्मीले नेपाली कांग्रेस र नेकपा (एमाले) को हालसम्मको एकछत्र बिरासतलाई अन्त्य गर्दै जित दर्ता गर्नुभएको हो । बहुदल आएपश्चात् पहिलो पटक यस क्षेत्रमा कांग्रेस र एमाले बाहेकका उम्मेदवारले जित निकालेका हुन् ।
यसअघि २०४८ मा कांग्रेसका गोपालमान श्रेष्ठ, २०५१ को मध्यावधि निर्वाचनमा एमालेका त्रिलोचन ढकाल, २०५६ मा एमालेका हितकाजी गुरुङ, २०६४ को संविधान सभा निर्वाचनमा हितकाजी गुरुङ, २०७० मा कांग्रेसका राजु थापा, २०७४ मा एमालेका नारायण मरासिनी र २०७९ मा कांग्रेसका राजु थापाले जित्नुभएको थियो ।
विजयपश्चात् डा. रेग्मीले निर्वाचनका क्रममा जनतामाझ देखेका समस्या र माग गरिएका योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रभित्रका खानेपानी, मोटरबाटो, बिजुली र बाँदरको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा हरिनास, अर्जुनचौपारी, आँधी खोला, फेदी खोला, पुतलीबजार गाउँपालिका तथा नगरपालिका र भिरकोट (१–४) एवं वालिङ (३ र ४) वडाका मतदाताले मतदान गरेका थिए ।
कुल १ लाख ३० हजार ८८६ मतदाता रहेको यस क्षेत्रमा ७० हजार ९४४ मत खसेको थियो भने २ हजार ९०८ मत बदर भएको थियो ।