• १३ असोज २०८१, आइतबार

सञ्चारका कानुन विज्ञ दाहाल र पत्रकार अधिकारी पुरस्कृत

blog

नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा दुईजना पुरस्कृत । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, चैत १६ गते । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाइन खबरका लागि विराटनगरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो । 

५० हजार ५१ रुपियाँ नगद राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई र १५ हजार ५१ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार अधिकारीलाई प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

महासङ्घ मोरङले स्थापना दिवसको अवसरमा हरेक वर्ष चैत १६ गते यो पुरस्कार वितरण गर्दै आएको छ । पुरस्कार वितरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले सूचनाको हक कार्यान्वयनले नागरिकको अधिकारलाई सुनिश्चित गर्दै लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पत्रकारिता लोकतन्त्रलाई बलियो बनाउने विश्वासयोग्य क्षेत्र भएकाले यसको मर्यादालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश प्रमुख खापुङले नागरिकका समस्या सरकारसम्म र सरकारका काम नागरिकसम्म पुर्‍याउने माध्यम पत्रकारिता सत्यतथ्यमा आधारित हुन आवश्यक रहेको बताउनुभयो ।

भरपर्दो, विश्वासयोग्य बनाउन सूचनाको हक प्रयोग गरेर प्रमाणहरू जुटाउन आग्रह गर्दै उहाँले आधारहीन समाचार सामग्रीले पेसागत मर्यादा घटाउने कुरालाई ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भौगोलिक विविधतासँगै बहुधार्मिक र बहुसांस्कृतिक भावना भएको नेपाली समाजलाई पत्रकारिता क्षेत्रले एकतामा बाँध्ने काम गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले लोकतन्त्रलाई सुदृढ बनाउने एकमात्रै माध्यम नागरिकले सूचनाको हकको प्रयोग गर्नुरहेको बताउनुभयो । उहाँले सत्यतथ्य समाचार नागरिकसम्म पुर्‍याउन पत्रकारका लागि बलियो हतियार सूचनाको हक रहेकाले कानुनी प्रक्रिया पूरा गरेर समाचार सामग्री जुटाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले सार्वजनिक निकायमा बसेर सूचना दिन अस्वीकार गर्ने प्रणालीको अन्त्य नहुँदासम्म लोकतन्त्र बलियो नहुने बताउँदै आम नागरिक सूचनाको हक प्रयोग गर्ने हकदार भएको बताउनुभयो । त्यसका लागि सूचनाको हक प्रयोग गर्नुपर्ने चेतना बढाउन पत्रकारिता क्षेत्रको भूमिका धेरै हुने उहाँको भनाइ थियो । 


सञ्चार कानुन विज्ञ एवम् पुरस्कृत व्यक्तित्व दाहालले सूचनाको हकसँग जोडिएर गरेको योगदानको सम्मान हुनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले आम नागरिकले कानुनको परिपालना गर्ने र गराउने कुरामा ध्यान दिए लोकतन्त्रको आधार बलियो हुने बताउनुभयो । 

महासङ्घको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलगायत जिल्लास्थित सरकारी उच्चपदस्थ कर्मचारी, मानवअधिकारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।