• १३ असोज २०८१, आइतबार

एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी

blog

आदिवासी जनजातिका खाना प्रवद्र्धनका लागि गरिएको प्रदर्शनी ।

विष्णुप्रसाद पोखरेल

दमक, चैत १६ गते । झापाको दमकमा विभिन्न जातजातिका परिकारहरूको प्रवर्द्धन गर्न एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आदिवासी समुदायका परम्परागत तथा रैथाने खानाको प्रवर्द्धनका लागि बुधबार र बिहीबार दमकको गणतन्त्र चोकमा प्रदर्शनीको आयोजना भएको हो ।

दमकमा बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरूले आफ्नो मौलिक खानाहरू बनाएर प्रदर्शनी तथा विक्री वितरण गरेका हुन् । पहाडमा फल्ने कोदो र फापरका रोटी देखि तराईमा आदिवासी समुदायले खाने गरेका घुँगीसम्म प्रदर्शनीमा राखिएको छ ।


नेवा:, किरात राई, किरात याक्थुम, तामाङ, घिमाल, राजवंशीलगायतका आदिवासीका परम्परागत खानाहरू प्रदर्शनी र विक्रीका लागि राखिएको आदिवासी नेतृ सुमित्रा वाङ्देल चेलीले बताउनुभयो । यसले परम्परागत खानाहरूको प्रवर्द्धनमा टेवा पुगेको उहाँको भनाइ छ ।

किरात राईको मौलिक खाना बाचिपा, ढिँडो, सिस्नु, किरात याक्थुमको याङ्वेन, सर्गेङ, किनिमा, झ्याउ तामाङको खाक्सी, आलम धिमालको चिचिरी, घुँघी, तीनपाने रक्सी राजवंशीको भक्कालगायतका खानाहरू प्रदर्शनीसहित विक्री वितरण भएको राईले जानकारी दिनुभयो ।

जनजाति महिलालाई उद्यममा जोड्न र नेपालका रैथाने उत्पादनको प्रवर्द्धनका लागि सचेतनामूलक रूपमा यो कार्यक्रमको आयोजना गरिएको प्राध्यापक तथा मार्क्सवादी ज्ञान केन्द्रकी राधिका ओझाले बताउनुभयो ।