• १३ असोज २०८१, आइतबार

प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न माग

blog

लिखु ४ जलविद्युत आयोजना ।

शेरबहादुर राई 

ओखलढुङ्गा, चैत १५ गते । लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो । 

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गर्नुभएको छ । 

आयोजना सञ्चालन गर्नुपूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु ४ ले सम्झौताअनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

स्थानीय सरोकारवालाको माग सम्बोधन गर्दै आयोजनाले २०७७ साउन २६ गते स्थानीय स्तरमा विद्युत विस्तारदेखि सडक कालोपत्रे सम्मका काम गर्ने सहमति गरेको थियो । 

त्यसलगतै २०७७ भदौ १७ गते ग्रिन भेन्चर्सले गाउँपालिकालाई पत्र पठाएर प्रभावित क्षेत्रमा गर्ने कामबारे जानकारी गराएको थियो । तर हालसम्म कुनै काम नगरेपछि पत्र लेखेर सहमति कार्यान्वयन गर्न सुझाएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । 

प्रभावित क्षेत्रमा तत्काल विद्युत विस्तार गर्न, लिम्ती विमिरे विद्युत प्रसारण लाइन ११ केभिए विद्युत उपलब्ध गराउने सहमति कार्यान्वयन नगर्नुको लिखित जवाफ १५ दिन भित्र पेस गर्न, पूर्वसहमति अनुसार लेती खोला र एलुङ खोलामा स्वागतद्वारा निर्माण गर्न, लिखु गाउँपालिकाको सिमानादेखि जिलीडाँडासम्म कालोपत्रेको काम तत्काल सम्पन्न गर्न लिखित रूपमा माग गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि १६९ अनुसार आयोजना प्रभावित क्षेत्रका सरोकारवालालाई पूर्व सूचित सूचनाको अधिकार हुनुपर्नेमा स्थानीयलाई झुक्यानमा पारेर आयोजनाले लाभ लिने कार्य मात्रै गरेको भन्दै गाउँपालिकाले आयोजना सञ्चालन गर्ने कम्पनीलाई माग गरिएको हो ।