• १३ असोज २०८१, आइतबार

ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण

blog

आँखा जाँच कार्यक्रममा आँखा परीक्षण गरिँदै । तस्बिर– चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १४ गते । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्र ज्योति सङ्घको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण गरिएको छ । पत्रकार महासङ्घको ६८ औँ तथा नेत्र ज्योतिको ४५ औँ स्थापना दिवसको अवसर पारेर मङ्गलबार जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको आँखा परीक्षण गरिएको हो । 

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्य तथा नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा जिल्लाका ४१ जना सञ्चारकर्मीको निःशुल्क आँखा परीक्षण गरिएको हो । स्थानीय सञ्चारमाध्यम रेडियो तमोर, रेडियो ताप्लेजुङ, रेडियो काबेली, उज्यालो पोष्ट दैनिक, फक्ताङ्लुङ दर्पण साप्ताहिक, विभिन्न अनलाइनलगायत गोरखापत्र, कान्तिपुर दैनिकसहित राष्ट्रियस्तरका सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीले आँखा परीक्षण गराएका छन् । 

स्थानीय पत्रकार तथा सञ्चारकर्मीका साथै नेत्र ज्योतिकर्मीहरू समेतको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । सचिव अधिकारीका अनुसार आँखा परीक्षणसँगै निःशुल्क चस्मा र औषधि वितरण पनि गरिएको छ । चस्मा लगाउनुपर्ने अवस्था भएकालाई निःशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।

फुङ्लिङस्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको आँखा जाँच कार्यक्रममा उपचार केन्द्रकै प्राविधिक सहयोग रहेको थियो । आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ र क्लिनिक कर्मचारी काजी थेबेले सहभागीहरूको आँखा परीक्षण गर्नुभएको थियो । 

यता, नेपाल नेत्र ज्योति सङ्घको ४५ औँ स्थापना दिवस चैत १३ गते र नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवस चैत १६ गते पर्दछ । आँखा परीक्षण कार्यक्रममा नेत्र ज्योति सङ्घ जिल्ला शाखाका पदाधिकारी, सदस्य, कर्मचारीलगायतको उपस्थिति थियो ।