• १३ साउन २०८१, आइतबार

नेकपा एसको सचिवालय बैठक

मन्‍त्रीको नाम पेश गर्न कार्यदललाई नेकपा एसको निर्देशन

blog

काठमाडौं, चैत १४ गते । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

मङ्गलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुङ्गोमा पुग्ने सकिने उहाँको भनाइ थियो ।

प्रवक्ता खतिवडाले भन्नु भयो, ‘‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुङ्गो नलागीकन मन्त्रीहरूको टुङ्गो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडोभन्दा चाँडो सचिवालयको बैठकमा पेस गर्न तीन सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौँ । कार्यदलले चाँडोभन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामसहित उसले पेस गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेस गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौँ ।’’

त्यसैगरी, बैठकले मिटरब्याँज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो ।

‘‘आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको ५५ औँ बैठक सम्पन्न भएको छ । हाम्रा पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीका सदस्य चूडामणि जंगलीले पार्टीमा विविध कारण देखाई राजीनामा पेस गर्नु भएको थियो । त्यो राजीनामा हाम्रो यो कमिटीले स्वीकार गरेको छ । त्यसलाई स्वीकृत गरेको छ । त्यसपश्चात् हाम्रो पार्टीले यो मिटर ब्याजीहरु अहिले आन्दोलनमा छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आई पुगेका छन् । उनीहरू सडकमा छन् । हामी, हाम्रो पार्टी उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । हामी उहाँहरूको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौँ । हाम्रो पार्टीबाट ऐक्यबद्धता प्रकट गर्दै उहाँहरूको पक्षमा हाम्रो आफ्नो धारणा पनि हामी राख्नेछौँ । र, मिटरब्याज लगाउनेहरूलाई, कानुनी रूपले दोषीहरूलाई कारबाही गर्नका लागि पनि हामीले माग गरेका छौँ ।’’

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरिएको नेकपा एसले जनाएको छ ।