बोमलाल गिरी
नवलपुर, चैत २९ गते । थारू समुदायको चर्चित भोदी खेलालाई राष्ट्रिय खेलको मान्यता दिने बाटो खुलेको छ । नवलपुरमा मात्र सिमित भोदी खेल देशव्यापी बनेसँगै राष्ट्रिय खेलको मान्यता दिनका लागि बाटो खुलेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भएको व्यवस्था अनुसार कुनै पनि खेलले जिल्ला स्तरीय मान्यता पाउनका लागि कम्तिमा तीन वटा पालिका र प्रदेश स्तरीय मान्यता पाउनका लागि कम्तिमा पाँच वटा जिल्लामा दर्ता भएको हुनुपर्छ । त्यस्तै राष्ट्रिय खेलको मान्यता पाउनका लागि कम्तिमा चार वटा प्रदेशमा दर्ता भएको हुनुपर्ने ऐनमा व्यवस्था छ ।
प्रदेश भोदी सङ्घ गण्डकीको आयोजनामा शानिबार र आइतबार नवलपुरको कावासोती–१६, डण्डाको थारू सङ्ग्रहालयको मैदानमा प्रदेश स्तरीय भोदी खेल प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा सातै प्रदेको सहभागिता रहेको र सबै प्रदेशमा भोदी खेल दर्ता भएकाले राष्ट्रिय प्रतियोगिताको रूपमा मान्यता दिने बाटो खुलेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।
‘‘भोदी खेल थारू समुदायको मौलिक र विशेष खेल हो, यसलाई ऐनले पनि विशेष महत्त्व दिएको छ,’’ शर्माले भन्नुभयो, ‘‘विशेष खेललाई राष्ट्रिय खेलकुद परिषद्ले सिधैं राष्ट्रिय खेलको रूपमा दर्ता गर्नुपर्ने थियो, तर नगरेका कारण अब प्रदेश खेलकुद परिषले त्यसका लागि पहल गर्छ ।’’
उहाँले यसको महत्त्व बुझाउँदै सातै प्रदेशमा दर्ता गरेको र पहिलो पटक सबै प्रदेशको सहभागितामा प्रतियोगिता पनि भइसकेकाले राष्ट्रिय खेलको मान्यता पाउने बाटो खुलेको बताउनुभयो ।
प्रतियोगिता आयोजनाका हिसाबले, मौलिक र ऐतिहासिक महत्त्वका हिसाबले र विशेष खेलका हिसाबले पनि मान्यता दिन कुनै कानुनी अवरोध नभएको शर्माको भनाइ छ । राष्ट्रिय खेलको मान्यता पाएपछि अब यो खेल थारू समुदायमा मात्र सिमित नरहने उहाँले बताउनुभयो ।
भोदी खेल सङ्घ गण्डकीका अध्यक्ष रामप्रसाद महतोले यो खेलले सबै कानुनी आधार पुरा गरिसकेकाले अब राष्ट्रिय खेलको मान्यता प्राप्त गर्नका लागि पहल गर्ने बताउनुभयो । त्यसका लागि सहयोग गर्न पनि उहाँले सबैसित आग्रह गर्नुभएको छ ।
लोप हुने अवस्थामा पुगेको यो खेलले राष्ट्रिय खेलको मान्यता पाउने अवस्थामा पुगेको भन्दै थारू समुदायका अगुवाहरू हर्षित भएका छन् । पहिले थारूहरूले मात्र खेल्ने यो खेल अहिले अन्य समुदायले पनि खेल्न थालेका छन् । प्रतियोगितामा मगर र क्षेत्री समुदायका युवाले पनि भाग लिएका थिए ।
के हो भोदी खेल
भोदी खेल सङ्घ गण्डकीका अध्यक्ष महतोका अनुसार यो खेल कौरव र पाण्डवको युद्धकालिन महत्त्वसँग जोडिएको छ । अनन्त चर्तुदशीको भोली पल्ट आफ्नो गाउँ टोलका युवाको समूह काठको लट्ठी बनाइ सो लट्ठीलाई जमिनमा एक हात जतिको खाल्डो खनी त्यही खाल्डोमा १० थान लठ्ठी राखी बाँकी माथि देखिएको लठ्ठीहरूलाई खाल्डोबाट अर्को लठ्ठीले हानेर निकाल्ने खेललाई भोदी खेल भनिन्छ ।
यसो गर्दा भगवान् इन्द्र अति प्रशन्न भइ बरदान दिनुहुने छ, कौरवसँगको लडाईंमा पाण्डवहरूको विजय हुने छ र मनुष्य जातिको इच्चा आकाङ्क्षा पूरा हुने छ भनि श्रीकृष्णले पाण्डवलाई सम्झाई बुझाइ गरेको किम्वदन्ती रहेको महतोले बताउनुभयो । सोही दिनदेखि थारू समुदायले यो खेल खेल्ने गरेको इतिहास ररेको उहाँको भनाइ छ ।
कसरी खेलिन्छ
यो महिला र पुरुष दुबैले खेल्छन् । एक समूहमा १० खेलाडी खेल्छन् भने दुई जना अतिरिक्त खेलाडी, एक जना टीम व्यवस्थापक र एक जना प्रशिक्षक गरी १४ जना रहन्छन् । एउटा खेल १० मिनेटको हुन्छ । जमिनमा खनिएको १२ इन्चको खाल्डो (थारू भाषामा डाङ) मा १० वटा लट्ठी (थारू भाषामा टाँचा) ठाडो पारेर राखिएको हुन्छ ।
१० मिटर टाढाबाट पालैपालो अर्को लट्ठीले झटारो हानेर खाल्डोमा राखिएका लट्ठी निकाल्नु पर्ने हुन्छ । जति छोटो समयमा जति धेरै लट्ठी निकाल्न सक्यो उसैैलाई विजेता घोषणा गर्ने नियम रहेको खेल व्यवस्थापन समितिका संयोजक रिमबहादुर महतोले जानकारी दिनुभयो ।