• १३ असोज २०८१, आइतबार

एसइईका लागि सुनसरीका केन्द्राध्यक्षलाई अभिमुखीकरण

blog

शिक्षा विकास तथा समन्वय ईकाई सुनसरीको आयोजना भएको केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण तालिमका अतिथि तथा सहभागीहरु । तस्विर– जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, चैत १४ गते । माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले मङ्गलबार एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।

केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण तालिम दिइएको शिक्षा विकास तथा समन्वय इकाई  सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ४८ परीक्षा केन्द्रका केन्द्राध्यक्षकहरुलाई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि आवश्यक पर्ने प्रशासनिक र प्राविधिक सुझावसहितको निर्देशन दिनुभयो । 

समन्वय इकाई प्रमुख सुवेदीले जिल्लाका १२ पालिकाका ४८ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई जिल्लामा बोलाएर अभिमुखीकरण गरिएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई परीक्षा जस्तो बनाउन र परीक्षा सञ्चालन निर्देशिका बमोजिम परीक्षालाई  निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न निर्देशन गरिएको बताउनुभयो ।

त्यस्तै केन्द्राध्यक्षहरुलाई परीक्षा सामग्री समेत हस्तान्तरण गरिएको जनाएको छ ।  केन्द्राध्यक्षहरुलाई परीक्षाका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको थियो । शिक्षा तालिम केन्द्रमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो ।

माध्यमिक शिक्षा परीक्षा एसइई चैत १७ गतेबाट सुरु हुँंदैछ । सुनसरीबाट यस वर्षको एसइई परीक्षामा १३ हजार ७५ जना परीक्षार्थी सहभागी हुनेभएका छन् । परीक्षामा ४८ केन्द्र मध्ये नौ वटामा प्राविधिक धार र साधारणको एकैठाउँमा हुनेछ भने अन्यमा नियमित विधार्थीहरुको सहभागी रहनेछन् । जिल्लामा प्राविधिकतर्फ ३५७ र साधारणतर्फ १२ हजार ५९५ जना, ग्रेड वृद्धिका ९० जना र खुल्लातर्फ ३३ जना गरी कुल १३ हजार ७५ जना विधार्थीहरुको सहभागी हुने इकाईका अधिकृत निर्मल निरौलाले जानकारी दिनुभयो । जिल्लामा १९ प्रहरी युनिटहरूमा प्रश्नपत्र पठाएको जनाइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी खटिने जनाएको छ ।