• २७ वैशाख २०८१, बिहिबार

मिटरब्याज पीडितको पीडा : ऋण तिरेको तमसुक नबन्दा घरजग्गा लिलाम हुन्छ

blog

काठमाडौं, चैत १३ गते। बर्दिबासबाट पैदल यात्रा गरेर करिब ९० भन्दा बढी मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन्। यसरी काठमाडौं आउनेमा सप्तरी, धुनषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका पीडित धेरै छन्। उनीहरुले मिटरब्याजी पीडकलाई कारबाही गर्नुपर्ने र न्यायको मागसहित संघर्षमा उत्रेको बताएका छन्।  सिरहाका मनोज पासवानले आफ्नो दाजु विदेश जाने बेलामा ५० हजार रुपियाँ ऋण लिएका थिए। यसका लागि अदालतले सात कट्ठा जमिन लिलाम गरिसक्यो तर सो ऋण तिरेको तमसुक हुन सकेको छैन। 


मिटरब्याजीको समस्याको सम्बन्धमा उहाँ भन्नुहुन्छ, “मान्छेलाई एउटा–एउटा बाध्यता हुन्छ। जस्तो कि, कसैलाई एक लाख रुपियाँ मिटरब्याजीसँग लियो भने तमसुकमा तीन लाख रुपियाँको औठाछाप लगाउँछ। त्यति गर्दा पनि पैसा दिदैनँ अनि भएको दुई, चार कट्ठा जमिन पनि उहाँहरुकै नाममा पास गर्दिनुपर्छ। अनि मात्र एक लाखको ऋण दिन्छ। यो प्रक्रिया पुरा नगर्दासम्म उसले ऋण पाउँदैन।” जति पैसा छ, भएको बेला थोर–थोरै तिर्दै गरेको रकमको तमसुक पनि नबनाउने त्यसपछि ऋण दोब्बर, तेब्बर हुँदै घरजग्गा नै लिलाम गर्ने अवस्था आएको पासवान बताउनुहुन्छ। 



धनुषाकी नारायणली पोखरेलको घर लिलामी भएको चार वर्ष भइसक्यो। उहाँले मिटरब्याजीसँग एक लाखको ऋण लिएकोमा घरजग्गा नै लिलामी गर्नुपरेको दुःख व्यक्त गर्नुभयो।पोखरेलले भन्नुभयो, “खुट्टा दुख्दा–दुख्दै यहाँसम्म आयौं। पसलको लागि अलिकति एक लाख ऋण लिएका थियौं। दश, बीस हजार गरेर तिर्दा तिर्दै पनि घर–जग्गा नै बेच्ने अवस्था आयो। पैसा तिरिसक्यौं तमसुक छ तर महिनामा चार, पाँच चोटी पैसा मागिरहन्छन्, टर्चर दिइरहन्छन्।” उहाँले पैसा दिइसके पनि दैकिक जीवयापनमा नै मानसिक यातना दिने गरेको दुःख व्यक्त गर्नुभयो। 

यसरी, पीडित भएर काठमाडौंमा आउनेमा दश जना ६० वर्षभन्दा माथिका वृद्धवृद्धा हुनुहुन्छ। ३५ जना पुरुष, ५३ जना महिला, छ महिनाको दुधे बालकसहितका केही आमा र बच्चाहरु पनि मिटरब्याजी संघर्षको कार्यक्रममा सहभागी छन्।

उनीहरु खाने, बस्ने प्रवर्द्धनसहित सोमबार काठमाडौंको खुलामञ्चमा प्रवेश गर्न खोजेकोमा काठमाडौं महानगरले प्रवेश रोक गरेको थियो। महानगरले खुला मञ्चमा प्रवेश नदिएपछि  खुलामञ्चको गेट अगाडिको सडकमा रात काट्ने प्रतिक्रिया उनीहरुले दिएका छन्।  भिडियो : केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।