• १३ असोज २०८१, आइतबार

ट्राफिक कारबाहीबाट साढे चारलाख राजस्व सङ्कलन

blog

ट्राफिक कारबाही । फाइल फाेटाे ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ११ गते । ताप्लेजुङमा विभिन्न ट्राफिक कारबाहीबाट साढे चारलाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । पछिल्लो आठ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ताप्लेजुङमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।

ट्राफिक कारबाहीबाट चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल चारलाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सुशील विश्वासका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो । 

गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच लाख ६९ हजार ५०० रुपियाँ ट्राफिक कारबाहीबाट राजस्व रकम सङ्कलन भएको थियो । यो वर्ष आठ महिनाको अवधिभित्रै साढे चारलाख बढी रकम सङ्कलन भएको असई विश्वासले बताउनुभयो । जिल्लामा ट्राफिकको नियम उल्लङ्घन गर्ने बढेकाले राजस्व रकम सङ्कलनमा पनि वृद्धि भएको विश्वासको भनाइ छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चिलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । चालू आवमा सबैभन्दा बढी कात्तिक महिनामा ९३ हजार ५०० रुपियाँ र कम माघ महिनामा ३१ हजार रुपियाँ राजस्व रकम सङ्कलन भएको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा जिप रहेको छ । यस अवधिमा सबैभन्दा कम भने अटो सवारी साधन कारबाहीमा परेका छन् । यसरी आठ महिनाको अवधिमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रेलगायत गरी ७०० सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । गत आवमा ७५० वटा विभिन्न सवारीसाधन ट्राफिक नियम उल्लङ्घन गरेका कारण कारबाहीमा परेका थिए ।